detail-img

सुशासन र विकास एमालेले मात्र दिनसक्छः महासचिव पोखरेल 

धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँचसयभन्दा बढी एमालेमा प्रवेश   
जनकपुरधाम । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले मात्रै देशमा सुशासन र विकासको कामलाई गति दिन सक्ने बताउँदै अबको निर्वाचनमा जनताले एमालेलाई बहुमत दिने विश्वास व्यक्त गर्नुभएको छ । 
धनुषाको हंशपुर नगरपालिका– ५ निकालमा नेकपा (एमाले) हंशपुर नगर कमिटीले शनिबार आयोजना गरेको वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले २०८४ को निर्वाचनमा जनताले एमालेलाई सरकार गठन गर्ने गरी बहुमत दिने विश्वास व्यक्त गर्नुभयो ।  


विगतमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले  मधेशको विकास र समृद्धिका लागि विभिन्न  कामहरू गरेकै कारण जनताले एमालेलाई मधेश प्रदेशमा पहिलो पार्टी बनाएको भन्दै महासचिव पोखरेलले मधेशको समृद्धि र विकासका लागि यहाँका जनताले एमालेलाई मत दिनुपर्नेमा जोड दिनु भयो । 
उहाँले अहिले विकास निर्माणका कामले गति लिन नसकेको, पुँजीगत खर्च एकदम न्यून रहेको र गठबन्धन सरकार असफल भइसकेको बताउनुभयो । 
उहाँले अन्य पार्टीबाट एमालेमा प्रवेश गर्नेको लहर नै चलेकाले एमालेको मिसन–२०८४ सफल बनाउने कुरालाई ध्यानमा राखेर काम गर्न नेताकार्यकर्तालाई आग्रह गर्नुभयो । 
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीका स्थानीय नेताकार्यकर्ता तथा समर्थक गरी पाँच सयभन्दा बढी एमालेमा प्रवेश गरेका थिए । नव प्रवेशीहरूलाई  महासचिव पोखरेल, पार्टीका पोलिटव्यूरो सदस्य तथा धनुषा इन्चार्ज लिलानाथ श्रेष्ठ, केन्द्रीय सदस्य इन्चार्ज संजिव झा सहितका नेताहरूले स्वागत गर्नुभएको थियो । 
नेकपा (एमाले) हंशपुर नगर कमिटीका अध्यक्ष दीपेन्द्र यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य सुमन प्याकुरेल, धनुषा इन्चार्ज लिलानाथ श्रेष्ठ, ,महोत्तरी इन्चार्ज जुली कुमारी महतो, नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव, पार्टीका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, केन्द्रीय सदस्य हरिनारायण महतो, उमाशंकर अरगरिया, संजिव कुमार झा लगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो । 
सभामा पार्टीका नेताकार्यकर्ताहरूका साथै ठूलो जनसहभागिता रहेको थियो । महासचिव पोखरेललाई स्थानीय नेताकार्यकर्ताद्वारा १०१ किलो फूलको माला लगाई सम्मान गरिएको थियो ।