detail-img

सदस्यता नवीकरण तथा विस्तार र स्थानीय अधिवेशनको सुव्यवस्थापन विषयमा कार्यशाला सम्पन्न  

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको आयोजनामा ‘सदस्यता नवीकरण तथा विस्तार र स्थानीय अधिवेशनको सुव्यवस्थापन’ विषयमा सांगठानिक कार्यशाला आज सम्पन्न भएको छ । 
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा हिजो र आज (२०८० फागुन २२ र २३ गते) भएको दुईदिने कार्यशालामा पहिलो दिन पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र दोस्रो दिन महासचिव शंकर पोखरेल विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो ।


कार्यशालाको अध्यक्षता गर्नुभएका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले कार्यशालाको मूल विषय ‘सदस्यता नवीकरण तथा विस्तार र स्थानीय अधिवेशनको सुव्यवस्थापन’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने केन्द्रीय कमिटीका सदस्य तथा संगठन विभागका सचिव माधव ढुङ्गेलले कार्यालय सञ्चालन, अनलाइन व्यवस्थापन र नेतृत्व निर्माण’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
कार्यशालामा स्थानीय अधिवेशन कार्यविधिमाथि पनि छलफल गर्नुका साथै सहभागी कमरेडहरूबाट सुझाव लिने काम भएको थियो । 
कार्यशालामा प्रदेश कमिटी इन्चार्जहरूको अतिथिका रूपमा उपस्थिति रहेको थियो भने प्रदेश कमिटीका अध्यक्षहरू, सचिवहरू, प्रदेश कमिटी संगठन विभागका प्रमुखहरू, प्रदेश कार्यालय सचिव, जनसंगठन समन्वय संयन्त्रका प्रदेश प्रमुखहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू सहभागीका रूपमा उपस्थित हुनुहुन्थ्यो । 
कार्यशालामा प्रस्तुत गरिएका  कार्यपत्रहरूमा विभिन्न ११ वटा समूह बनाई छलफल गरिएको थियो । 
सदस्यता नवीकरण तथा विस्तार र स्थानीय अधिवेशनहरूको सुव्यवस्थापन विषयक कार्यपत्रमा सदस्यता नवीकरणको कामलाई निर्धारित समयावधिमा प्राथमिकतासाथ सम्पन्न गर्नुपर्ने कुरामा जोड दिइएको छ भने नवीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरू विस्तृत र बुँदागतरूपमा प्रस्तुत गरिएको थियो । 
कार्यपत्रमा पार्टी सदस्यता नवीकरण र नयाँ सदस्य बृद्धि पार्टी जीवनको गतिशीलताको आधार हो भन्ने कुरालाई हृदयङ्गम गर्ने तथा पार्टी सदस्यहरू पार्टी निर्माणका आधारस्तम्भ र निर्णायक शक्ति भएकाले पार्टी सदस्यता विस्तार गर्दा त्यही महत्वका साथ गुणस्तरीयतामा पनि ध्यान पुर्याउनुपर्नेमा जोड दिइएको छ । पार्टीले सदस्यता नवीकरणको काम आगामी बर्षका लागि हरेक बर्ष फागुन÷चैत महिनामा सम्पन्न गर्ने कार्यतालिका रहेको छ । 
कार्यशालामा संगठनका परिपत्र, पार्टीका निर्णयहरू कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो । 
त्यसैगरी, कार्यालय सञ्चालन, अनलाइन व्यवस्थापन र नेतृत्व निर्माण विषयक कार्यपत्रमा हालसम्म पार्टीले निर्माण गरेका अनलाइन प्रणाली र तिनको प्रयोग÷उपयोगमा ध्यान दिनुपर्ने तथा कार्यालय व्यवस्थापनका सन्दर्भमा पार्टीका वडा कमिटीसम्म नै कार्यालयको व्यवस्था गरी कार्यालय सचिव राखेर काम गर्नुपर्ने भनिएको छ । 
कार्यपत्रमा नेतृत्व निर्माणमा कोटा निर्धारणको अवधारणाका विषयमा विशेष महत्वका साथ छलफल भएको थियो । सो अनुसार जिल्लाको खुला कोटा, कमिटीमा समावेशी प्रतिनिधित्व, पार्टी सदस्यमा आधारित कोटा, भूगोलमा आधारित कोटा र नेतृत्व निर्माणको विजगणितीय सूत्रका बारेमा घनीभूत छलफल भएको थियो ।