बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेश संगठन कमिटीले सोमवार एकै दिन सबै जिल्लाका पार्टी सदस्यहरूको आधारभूत तहको परीक्षा लिएको छ ।
पार्टीका कार्यकर्ताहरू वैचारिक रूपले स्पष्ट हुन सकून्, अध्ययनप्रति रुचि जागोस्, पार्टीले लिने वैचारिक प्रशिक्षणप्रति उत्साही हुन सकून् भन्ने उद्देश्यले यस प्रकारको कार्यक्रम राखिएको प्रदेश कमिटी अध्यक्ष अध्यक्ष राधाकृष्ण कँडेलले बताउनुभयो ।
प्रदेश कमिटीको स्कुल विभागले राखेको यो कार्यक्रम एकै दिन एकै समयमा १२ वटै जिल्लामा राखिएकाले प्रभावकारी हुन सकेको विश्वास पनि अध्यक्ष कँडेलले ब्यक्त गर्नुभयो ।
पहिलो पटक सदस्यहरूलाई क्रियाशील बनाउन यसखालको प्रक्रिया थालिएको र सबै क्षेत्रमा उत्साहपूर्वक सहभागिता भएको उहाँले बताउनुभयो ।
प्रचार विभाग प्रमुख डीआर घिमिरेले यो परीक्षा पूर्व तयारीस्वरुप भएको भए पनि यस अनुभवका आधारमा आगामी दिनमा व्यवस्थित हुँदै जाने वताउनुभयो । यसको मूल भावना कार्यकर्तामा वैचारिक जिज्ञासा बढाउने हो, जुन हुन सकेको छ, उहाँले भन्नुभयो ।
यस कार्यक्रमले आगामी दिनमा स्कुल विभागले सञ्चालन गर्ने प्रशिक्षणमा कुन तहको प्रशिक्षण दिनुपर्ने भनी सन्देश दिन सकेको धारणा प्रदेश कमिटीका उपाध्यक्ष एवं स्कुल विभाग प्रमुख भोजप्रसाद श्रेष्ठले वताउनुभयो ।