detail-img

समान विचार राख्नेहरू बिचको सहकार्य नै प्राकृतिक हुन्छः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले  समान विचार राख्ने बिचको सहकार्य नै प्राकृतिक हुने बताउनुभएको छ । 
नेकपा (एमाले) सुर्खेतको नवौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाली कांग्रेसले विचारको आधारमा होइन स्वार्थको आधारमा राजनीतिलाई डोर्याउने पैरवी गरेकाले समान विचार बोक्ने दल बिच सहकार्यमा अवरोध हुँदै आएको बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– नेपालमा अप्राकृतिक गठबन्धनका माध्यमबाट शासन गर्ने जुन प्रयास भयो, त्यो प्रयासले लोकतन्त्र सङ्कटमा पर्दै गएको हामीले महसुस गर्यौं ।   


अप्राकृतिक गठबन्धनले लोकतन्त्रको हुर्मत लिने काम भएको बताउँदै यस अघि गठबन्धनको पालामा देशको अर्थव्यवस्था लथालिङ्ग भएको उहाँको भनाइ छ । त्यसैलाई नियन्त्रण गर्न नेकपा (एमाले)ले नयाँ समीकरण निर्माणको पहल गरेको र प्रधानमन्त्रीले समेत त्यसलाई अनुभूत गरेकाले प्रयास सफल भएको महासचिव पोखरेलले बताउनुभयो । 
नेकपा (एमाले) अहिलेको अवस्थामा नयाँ समीकरणलाई चुनावसम्म लिएर जानुपर्छ मान्ने मान्यतामा रहेको र सत्ताको होडबाजीका रूपमा होइन, भविष्यका लागि सोच्नु पर्दछ भनेर एमालेले यो समीकरण अघि बढाएको उहाँले जानकारी दिनुभयो । त्यसैले एमालेले कुन मन्त्रालय र कुन मन्त्री भन्ने कुरा नगरेको उहाँले प्रष्ट पार्नुभयो । 
मुलुकको ओरालो यात्रालाई रोकेर जनतामा आशा जगाउन एमालेले नयाँ समीकरण बनाएको महासचिव पोखरेलले बताउनुभयो । बिग्रिएको अवस्थालाई सुधार गरेर मुलुकलाई सही दिशामा अघि बढाउन सामूहिक प्रयास आवश्यक पर्ने धारणा उहाँले राख्नुभयो । 
महासचिव पोखरेलले नेपालको राजनीतिको सबैभन्दा विडम्बनापूर्ण पक्ष भनेको नेपाली कांग्रेस राजनीतिक परिवर्तनको यात्रामा सधैँ देखिन्छ, भूमिका खेल्छ तर उपलब्धि संस्थागत गर्ने बेलामा कांग्रेसले धोका दिने काम गर्दै आएको बताउनुभयो ।  
वामपन्थी पार्टीहरूको बिचमा फाटो ल्याएर कांग्रेसले आफ्नो अस्तित्व खोज्ने र जोगाउने काम गर्दै आएको र त्यो नै नेपालको राजनीतिक अस्थिरताको कारक भएको उहाँको भनाइ छ । उद्घाटन समारोहमा पार्टीका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा, स्थायी कमिटी सदस्यहरू गोरखबहादुर बोगटी, यामलाल कँडेल, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाह, केन्द्रीय कमिटीका सदस्यहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।