detail-img

नयाँ सत्ता समीकरण देशको ओरालो यात्रा रोक्न चालिएको कदमः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलेले राष्ट्र र जनताको भविष्यप्रति चिन्ता गर्ने एमालेको पहलमा नेपालको राजनीतिमा नयाँ सहकार्य सुरु भएको बताउनुभएको छ । 
नेकपा (एमाले) कास्कीको नवौँ जिल्ला अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै देश र जनताप्रति जिम्मेवार भएकै कारण एमालेले पुरानो गठबन्धन छाडेर आउँदा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारको नेतृत्व गर्न समर्थन गरेको उहाँले बताउनुभयो । 
प्रचण्डलाई कांग्रेससँग समीकरण गर्दा नै एमालेले यो गठबन्धनबाट देश र जनताको पक्षमा काम गर्न सक्नुहुन्न भनेको र उहाँले अहिले त्यो कुरा बुझ्नु भएको कारण नयाँ सत्ता समीकरण बनेको उहाँले स्पष्ट पार्नुभयो ।


महासचिव पोखरेले राजनीतिक अस्थिरता आज देशको प्रमुख चुनौती रहेको र पुराना दलका कारण नेपाल बनेन भनेर भाष्य निर्माण गर्न खोजिएको प्रसङ्ग राख्नुहुँदै नीतिको जगमा खडा भएका राजनीतिक दलले नै देशमा राजनीतिक स्थायित्व दिन सक्ने, देशमा विकास र समृद्धिका काम गर्ने, सामाजिक परिवर्तन ल्याउने बताउनुभयो । महासचिव पोखरेलले नेपाललाई विकास र समृद्धिको दिशामा लैजाने हो भने बलिया राजनीतिक दलको आवश्यक छ भन्ने कुराको सच्चाइलाई नेपाली जनताको बिचमा लिएर जानुपर्दछ भन्नुभयो ।  यतिबेला पार्टी सत्ता साझेदारीमा रहे पनि नेकपा (एमाले)को अर्जुन दृष्टि मिसनह– २०८४ रहेको र सत्ता सहयात्राबाट मिसन–२०८४ लाई सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।   
महासचिव पोखरेलले अहिले एमाले सरकारमा त गयो महत्पूर्ण मन्त्रालय त लिएन नि भन्ने चर्चा हुने गरेको सन्दर्भमा महासचिव पोखरेलले नयाँ सत्ता समीकरणबाट मुलुकको ओरालो यात्रालाई रोक्ने काम भएको स्पष्ट गर्नुभयो । अधिवेशन उद्घाटन समारोहमा पार्टीका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट, अर्का सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्यहरू खगराज अधिकारी, थममाया थापा लगायतका नेताहरूको अतिथिका रूपमा उपस्थिति रहेको थियो ।