detail-img

औसत मत प्राप्त नगरी संविधानलाई दोष दिन मिल्दैनः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रप्रतिको दायित्व पूरा गर्न पार्टी अझ बढी सुदृढ हुनु आवश्यक रहेको र त्यसका लागि नेताकार्यकर्ताहरूले मेहनत गर्नुपर्ने बताउनुभएको छ । 
नेकपा (एमाले) वाग्मती प्रदेश कमिटीको पूर्ण बैठकलाई मङ्गलबार सम्बोधन गर्दै महासचिव पोखरेलले बाग्मती प्रदेशले अझ बढी मेहनत गर्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचन प्रणालीलाई देखाएर निराशा प्रकट गर्ने बेला अहिले नभएको बताउनुभयो । 
संसदीय राजनीतिमा लोकप्रिय पार्टीले कम्तीमा पनि ४० प्रतिशत मत ल्याउनुपर्ने  अन्तर्राष्ट्रिय मान्यता रहेको उल्लेख गर्दै महासचिव पोखरेलले त्यति मत ल्याउँदा पनि बहुमत पुगेन भने मात्र संविधानलाई दोष दिन मिल्ने बताउनुभयो । 
उहाँले भन्नुभयो– संसदीय लोकतन्त्रमा लोकप्रिय राजनीतिक दलले औसत मत प्राप्त गर्दा पनि बहुमत आउन सकेन भने संविधानलाई खोट लगाउन सकिन्छ, संसदीय लोकतन्त्रको औसत मत पनि ल्याउन नसक्ने अनि संविधानलाई दोष दिन मिल्छ ?


पार्टीको रक्षा गर्ने कुरामा नेकपा (एमाले) सफल भएको भए पनि राष्ट्रप्रतिको दायित्व पूरा गर्ने सन्दर्भमा अझ धेरै मिहिनेत गर्नुपर्ने उहाँले बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– अहिले एमाले जुन ठाउँमा छ, त्यो ठाउँबाट राष्ट्रिय दायित्व पूरा गर्न सक्दैन । 
उहाँले पार्टीको अवस्थाका हिसावले सबैभन्दा धेरै मिहिनेत बाग्मती प्रदेशले गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय दायित्व र चुनौतीको हिसाबले सबैभन्दा बढी दायित्व वाग्मती प्रदेश कमिटीको काँधमा रहेको उहाँले प्रष्ट पार्नुभयो । महासचिव पोखरेलले बाग्मती प्रदेशमा २०७९ को चुनावमा पार्टीलाई ठुलो क्षति भएकाले त्यसलाई उकास्ने गरी बाग्मती प्रदेशले काम गर्नुपर्नेमा जोड दिनुभयो । 
आन्तरिक रूपमा भएको असमझदारी र मतभेदका कारण एमालेले सोचे जस्तो मत प्राप्त गर्न नसकेको उल्लेख गर्दै त्यसलाई ध्यानमा राखेर पार्टी एकतामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । 
मिसन ग्रासरुटले पार्टीभित्रका आन्तरिक समस्या र जनताका अपेक्षालाई उजागर गरेको र त्यसकै आधारमा केन्द्रीय कमिटीले वार्षिक कार्य योजना निर्माण गरेको महासचिव पोखरेलले प्रष्ट पार्नुभयो । 
एमालेमा अब काम नगरी कोही पनि नेता बन्न नसक्ने स्पष्ट गर्दै सबैलाई काम गरेर देखाउन उहाँले आग्रह पनि गर्नुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– अब कामका आधारमा मूल्याङ्कन गर्ने र मूल्याङ्कनका आधारमा जिम्मेवारी प्रदान गर्ने गरी हाम्रा कमिटीहरू अगाडि बढ्नुपर्छ । 
यति बेला पार्टीभित्र नीति र नेतृत्वको प्रश्नमा कुनै विवाद छैन  तर पार्टीका अधिवेशनमा प्रतिस्पर्धा गर्ने नेताहरूले हुल बाँधेरै प्रतिस्पर्धा गर्न खोजिराखेका छन्, त्यसले नीति, नेतृत्व र राजनीतिमा देखिएको एकतालाई खलबल्याइरहेको छ ।  
नेतृत्वको लागि बनाउने टिम स्वार्थको लागि बनाइएको टिम भएको र यस्ता कुरालाई प्रोत्साहित गर्नु नहुनेमा उहाँले जोड दिनुभयो । 
अधिवेशनपछि जिम्मेवारी प्राप्त गरेको नेतृत्वले एकता र सहकार्यको वातावरण निर्माणको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै महासचिव पोखरेलले त्यसो गर्न सक्दा मात्र मिसन–२०८४ सफल पार्न सकिने धारणा राख्नुभयो । 
एमालेको अहिलेको मुख्य लक्ष मिसन–२०८४ नै भएको र अहिले सरकारमा गरेको सहकार्यबाट मिसन– २०८४ लाई सहयोग पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
महासचिव पोखरेलले एमालेको नीति समाजवादी मोर्चा बनाउनेतर्फ नभई बलियो राजनीतिक शक्ति बनाउनेतर्फ केन्द्रित रहेको बताउनुभयो । एमाले राजनीतिक ध्रूवीकरणको माध्यमबाट जाने नीतिका साथ अघि बढेको उहाँले स्पष्ट पार्नुभयो । 
नेकपा (एमाले)ले देशलाई सङ्कटबाट निकाल्न जे जिम्मा पाइन्छ त्यसका माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्ने सोचका साथ काम गरिरहेको हुँदा अहिले सरकारमा पार्टीको हैसियत अनुसारको जिम्मेवारी नखोजेको उहाँले बताउनुभयो ।