detail-img

वर्तमान सत्ता समीकरण मुलुकको समृद्धि र राष्ट्रिय हितका लागिः बरिष्ठ उपाध्यक्ष पोखरेल

उदयपुर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता समीकरण देश र जनताको समृद्धि तथा राजनीतिक स्थायित्वका लागि गरिएको बताउनुभएको छ ।
नेकपा (एमाले) उदयपुरको नवौं जिल्ला अधिवेशनलाई आज गाईघाटमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सत्ता समीकरण भए पनि तत्काल वामपन्थी पार्टी एक हुने अवस्था नरहेको बताउनुभयो । 
उहाँले भन्नुभयो– नयाँ सत्ता समीकरण मुलुकको हितका लागि मात्र हो, पार्टी एकताका विषयमा एमालेको कुनै सोच छैन । 
वर्तमान सत्ता समीकरण मुलुकको समृद्धि, राष्ट्रिय हित र स्वाभिमानमा लागि भएको स्पष्ट गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– अहिले समाजवादी मोर्चा र वाम गठबन्धनको आवश्यकता पनि छैन र त्यसको अर्थ पनि छैन । अघिल्लो गठबन्धनका कारण राजनीतिक र सामाजिक सद्भाव बिग्रिएको, देशको स्वाभिमान गिरेकाले सच्याउनका लागि त्यो गठबन्धन भत्काउनु परेको उहाँले स्पष्ट पार्नुभयो । 
अब पार्टीको एजेण्डा भनेको विकास निर्माण भएको उल्लेख गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेबाट निर्वाचित जनप्रतिनिधिले विकास निर्माण, उत्पादन बढाउने, रोजगारी बढाउने, स्वरोजगारी, सीप विकास लगायतको कुरा गर्दैनन् भने एमालेको पछाडि मानिसहरू नलाग्ने बताउनुभयो । 
नेकपा (एमाले)लाई जनताको बिचमा लोकप्रिय बनाउने हो भने विकासनिर्माण, सीप, रोजगारी र स्वरोजगारी दिलाउने कुरामा ध्यान दिन जरुरी रहेको र यसका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– ‘यी मुद्दा उठाउन सकेन भने एमाले जनताको बिचमा स्थापित हुन सक्दैन । 
उद्घाटन समारोहमा पार्टीका सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्यहरू शेरधन राई, हिक्मत कार्की, पोलिटव्यूरो सदस्य पर्शु मेघी गुरुङ लगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।