detail-img

मधेस प्रदेशमा अब एमालेले सरकारको नेतृत्व गर्न चाहन्छः महासचिव पोखरेल 

बारा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अब मधेस प्रदेश सरकारको नेतृत्व  एमालेले गरेर विकास कसरी गर्नुपर्छ भन्ने देखाउन चाहेको बताउनुभएको छ ।
नेकपा (एमाले) बाराको प्रतिनिधि परिषद् बैठकलाई बुधबार सम्बोधन गर्दै महासचिव पोखरेलले मधेसमा अन्य दलले नेतृत्व लिएर काम गरिसकेको बताउँदै अब मधेसको नेतृत्व एमालेले लिन चाहेको बताउनुभयो ।
मधेसको विकास र समृद्धिका लागि योजनाबद्ध पहलकदमी अघि बढाउने पार्टी एमाले भएको बताउँदै महासचिव पोखरेलले तराईको मुख्य सडकको रूपमा रहेको हुलाकी सडक एमालेकै पालामा बनेको स्पष्ट गर्नुभयो । 
हिमालबाट बग्ने पानीबाट मधेसमा सिँचाइ गर्नुपर्दछ भनेर भेरी डाइभर्सन तथा सुनकोसी–मरिण डाइभर्सनको काम एमालेले अघि बढाएको र सुनकोसी–मरिण डाइभर्सनको सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । 
विगतमा एमालेलाई तराई मधेसमा छिर्न नदिने भनेर जनताका सपना र विकासलाई रोक्ने काम भएको स्मरण गर्दै महासचिव पोखरेलले भन्नुभयो– एमाले बेलैमा सरकारमा गएको भए मधेस अहिले निक्कै अगाडि बढिसकेको हुने थियो । 
नेपालको विकास र समृद्धि देख्न नचाहनेले एमालेलाई रोक्ने र विभाजित गर्ने काम गरेको उहाँले बताउनुभयो ।


पार्टीका नेता कार्यकर्ताको मेहनत र समर्पणका कारणले एमाले कठिन परिस्थितिमा पनि देशको सबैभन्दा लोकप्रिय दल बनेको धारणा महासचिव पोखरेलले राख्नुभयो । 
मुलुकमा अहिले एमालेसहितको नयाँ सत्ता समीकरण बनेको र यसमा पार्टीको ध्यान भागबण्डामा होइन, देशको विकास र बढ्दै गएको निराशालाई आशामा परिणत गराउनेतर्फ केन्द्रित रहेको उहाँले प्रष्ट पार्नुभयो । 
एमालेले देशको ओरालो लागेको यात्रालाई रोक्ने सोचका साथ नयाँ समीकरण गरेको र अहिलेको  सत्ता समीकरणलाई पूर्ण समयसम्म लैजाने कुरामा एमालेको प्रयास रहने महासचिव पोखरेलले बताउनुभयो । उहाँले नेकपा (एमाले)लाई अब निर्णायक शक्तिका रूपमा विकास गर्नुपर्ने बताउँदै यसका लागि जनताको बिचमा जानुपर्ने बताउनुभयो । 
अहिले कांग्रेसमा सरकारबाट बाहिरिनु परेको पीडा देखिएको र प्रतिनिधि सभा बैठक अवरुद्ध गरेर पीडा प्रकट गरिरहेको उहाँले बताउनुभयो । बैठकमा पार्टीका सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई लगायत नेताहरूले पनि बोल्नुभएको थियो ।