detail-img

विभागीय काम सक्रियतापूर्वक अघि बढाउन निर्देशन


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विभागीय कामहरुलाई सक्रियतापूर्वक अघि बढाउन निर्देशन दिनुभएको छ । केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमरेडले भन्नुभयो, ‘आ–आफ्ना विभागका कार्ययोजना बनाउनूस्, सक्रियतापूर्वक काममा लाग्नूस् र पार्टी कामलाई आफ्नो क्षेत्रमा अघि बढाउनूस् ।’


अध्यक्ष ओलीले निर्वाचनअघिका चार महिना पार्टीका लागि अत्यन्तै महत्वपूर्ण रहेको स्मरण गराउँदै निर्वाचनमा बन्ने कथित गठबन्धनलाई पराजित गर्नका लागि अहिलेदेखि नै योजनाबद्ध रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । 
अध्यक्ष कमरेडले भन्नुभयोः

‘हामी निर्वाचनको संघारमा छौँ । हाम्राविरुद्धमा अनेक रुपका शक्तिहरु लागेका छन् । यस्तो बेलामा पनि हामीले स्थानीय निर्वाचनमा ३८ लाख मत प्राप्त गरेर पहिलो शक्ति भएका छौँ । यस निर्वाचनमा हाम्रो हार भएको छैन– २ सय ५ स्थानमा जितेका छौँ, पहिलो शक्ति भएका छौँ । हारको हीन भावनाबाट होइन, जीतको उच्च मनोबलका साथ निर्वाचनमा होमिनुपर्छ ।’

‘हामीले पार्टीको आन्तरिक जीवनलाई मजबुत बनाउनुपर्छ । अनुशासनहीनता बढेको छ, नैतिक राजनीतिमा कमी आएको छ । पार्टीको गन्तव्य, कार्यदिशा, कार्यनीति र कार्यक्रमप्रति सहमत नहुने मानिस पार्टीमा रहन सक्दैन । जब हामी यसमा स्पष्ट छौँ भने समाजवादतर्फको यात्रामा कहीँ कतै भ्रम रहनु हुँदैन । एउटै लय, एउटै ताल र एउटै प्रतिबद्धताका साथ हामी लक्ष्यमा दृढतापूर्वक लाग्नुपर्छ ।’

‘नेतृत्वलाई बद्नाम गर्ने, अदालतलाई प्रयोग गरेर सरकार अपदस्थ गर्ने, व्यक्ति र समय तोकेरै प्रधानमन्त्री नियुक्त गर्ने जस्ता लोकतन्त्र र संविधानविरोधी कामहरु भए । हाम्रा विरुद्धमा पाँच दलदेखि संवैधानिक निकायहरुसमेत प्रयोग हुँदाहुँदै पनि हामी पहिलो पार्टी हुन सफल भएका छौँ । यो हाम्रो हार होइन, जीत हो । २ सय ५ पालिकामा जितेका छौँ, अरु ८८ स्थानमा दुई देखि पाँच सय मतको अन्तरमा हारेका छौँ । एउटा वडामा वडा कमिटी सदस्यहरु नै ३९ जना छन् तर वडाध्यक्षको मत आयोग ३४ । अर्को एउटा वडामा पार्टी सदस्यहरुको संख्या ६ सय छ तर उम्मेदवारको मत ३ सय आयो । यो किन र कसरी हुन्छ ? यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’

‘पार्टी छाडेर गएकाहरुलाई फर्काउन हामीले अधिकतम कोसिस गर्नुपर्छ । लहलहैमा लागेर, गलत कुराका पछि लागेर हिँडेका साथीहरुलाई फर्काउन मैले नै पहल गरिरहेको छु, तपाईंहरु पनि गर्नूस् । ठूलो संख्यामा पार्टी फर्किनेहरुको छिटै घोषणा हुनेछ । यस्तो अभियान तल–तलसम्म लैजानका लागि तपाईंहरु सबैजना लाग्नूस् ।’

‘दलहरुले बलिदानीपूर्ण संघर्ष गरेर ल्याएको लोकतन्त्रलाई कमजोर बनाउनका लागि अनेक खालका प्रयासहरु भइरहेका छन् । कहिले नयाँ पार्टीको कुरा गरिन्छ, कहिले स्वतन्त्रहरुको कुरा उछालिन्छ । विश्वमा कहीँ पनि स्वतन्त्रले शासन चलाएको र देश बनाएको उदाहरण छैन । यस्तो बेतुकका कुराका पछि कुद्नेहरुलाई सम्झाउनुपर्छ ।’

बैठकमा महासचिव शंकर पोखरेलले विभागले गर्नुपर्ने कामहरुका बारेमा स्पष्ट पार्नुभएको थियो । पार्टी विधान र नियमावलीले तोकेका काम, कर्तब्य र अधिकारहरुलाई विभागहरुले रचनात्मक रुपमा प्रयोग गरेर पार्टी कामलाई अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

पार्टीका ३३ वटा विभागका प्रमुख र उपप्रमुखका साथै सचिव चयन भएका विभागबाट सचिवहरुको सहभागिता रहेको थियो ।