detail-img

व्यापार सन्तुलनमा ल्याउनु मुख्य चुनौतीः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको व्यापार सन्तुलनमा ल्याउनु अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ । 
नेकपा (एमाले) उद्योग, वाणिज्य तथा आपूर्ति विभागको बैठकलाई बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै  अध्यक्ष ओलीले आयात व्यापारीको लागि व्यापार भए पनि देशको लागि निर्यात मात्र व्यापार हुने बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– व्यापार भनेको खासमा आयात होइन, आफ्नो चिज बेच्नुलाई व्यापार भनिन्छ, किन्नुलाई होइन । 
उहाँले नेपालको निर्यातको अवस्था निक्कै नाजुक,अति न्यून स्थितिमा रहेको बताउनुभयो । 
उद्यमशीलताले देशमा अवसर बढाउनुका साथै देशलाई आत्मनिर्भर बनाउने त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले त्यसपछि निर्यातमूलक उद्योग मार्फत निर्यात बढाउनुपर्ने बताउनुभयो । उहाँले बेसाहा लाउनु व्यापार होइन, आफ्नो उत्पादन बेच्नु व्यापार हो भन्ने तथ्यलाई हामीले बुझ्नुपर्छ भन्नुभयो । 
बैठक पार्टीका केन्द्रीय सदस्य तथा विभाग प्रमुख मोती दुगडको अध्यक्षतामा बसेको थियो ।