detail-img

अग्रजहरूको योगदान विर्सन हुँदैनः उपाध्यक्ष शाक्य

काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले धेरै अग्रजहरूले बलिदान गरेको पार्टी भएको र ती अग्रजहरूको इतिहास बिर्सन नहुने बताउनुभएको छ । 
रामेछापको सुनपाति गाउँपालिका–१ गुन्सीमा वडा अधिवेशन उद्घाटन तथा सेल्टरदाताको सम्मान कार्यक्रमलाई शनिबार गुन्सीमा सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले अग्रजको सम्मानले नै इतिहास जोगिने बताउनुभयो । 
उहाँले भन्नुभयो– इतिहास प्रेरणा हो, इतिहास शक्ति हो, इतिहासलाई जस्ताको तस्तै जीवित राख्नुपर्छ ।  
निरङ्कुश कालमा ग्रामीण क्षेत्रका महिलाले पार्टी जोगाउन गरेको जस्तो योगदान आजको पुस्ताले गर्न नसकेको उहाँले बताउनुभयो । उपाध्यक्ष शाक्यले भन्नुभयो–उहाँहरूले जीवन जोखिममा राखेर काम गर्नुभयो, त्यो सबैका लागि प्रेरणा हो । 
नेतृ शाक्यले हिजोको राजनीति त्याग र दुःखकष्टको राजनीति भएको बताउनुभयो । उहाँले भन्नुभयो– हिजो पार्टीमा काम गर्दा न सत्तामा पुगिन्छ भन्ने थियो, न केही प्राप्त हुन्छ भन्ने थियो, केवल योगदान र बलिदान मात्रै थियो ।


अहिले सुविधा र सत्ता राजनीतिसँगै पार्टीका नेताकार्यकर्ता स्वार्थी हुँदै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । ऐतिहासिक योद्धा जीवित हुँदै इतिहासलाई लिपिबद्ध गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
उपाध्यक्ष शाक्यले देश बनाउने पार्टी नेकपा (एमाले) नै हो भन्नुहुँदै एमाले र कांग्रेस देशका प्रमुख दल भएकाले देश बनाउने विषयमा एमाले र कांग्रेस नै गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 
पार्टीको धरातल गाउँ भएको बताउँदै नेतृ शाक्यले पार्टीलाई बलियो बनाउन धरातलमा नै टेक्नुपर्ने बताउनुभयो । उहाँले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई बहुमत सहितको एक नम्बर पार्टी बनाउन धरातलमा टेकेर राजनीतिक अभियान सञ्चालन गर्न निर्देशन दिनुभयो । उहाँले अबको पार्टीको काम देशको विकास र समृद्धि भएको बताउनुभयो ।  
अहिले रोजगारी लगायतका कारण मानिस बाहिर गएकाले गाउँ खालि भई जमिन बाँझो बसेको हुँदा गाउँमा बस्ने वातावरण बनाउन नयाँ ढङ्गले सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
नेकपा (एमाले)लाई जनतासँगको सम्बन्धको हिसाबले नमुना पार्टी बनाउनुपर्नेमा जोड दिँदै उपाध्यक्ष शाक्यले भन्नुभयो– आर्थिक, सामाजिक रूपान्तरणको काम अघि बढाउनुपर्छ । जनताले एमालेप्रति आशा, भरोसा र विश्वास गरेका छन्, त्यसलाई मर्न दिनुहुँदैन ।
कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य कमल चौलागाईंले उज्यालो दिन ल्याउनको निम्ति पुराना पुस्ताले जीवन बलिदान गरेको कुरा बिर्सनु नहुने बताउनुभयो । जागरणको लागि योगदान गर्ने सबैलाई पार्टीले सम्मान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
वडा कमिटी अध्यक्ष टीका मगरको अध्यक्षतामा भएको कार्यक्रममा कम्युनिष्ट पार्टी भूमिगत भएको बेला सेल्टर प्रदान गर्ने तथा पार्टी निर्माणमा योगदान गर्ने व्यक्ति र उहाँहरूका परिवारलाई सम्मान गरिएको थियो । 
सम्मानित व्यक्तित्व साधुराम चौलागाईँले पार्टीलाई जोगाउन र समाजमा जागरण ल्याउन आफूहरूले ज्यानको परवाह नगरेर काम गरेको बताउनुभयो । कम्युनिष्ट पार्टीमा लागे बापत आफूहरूले धेरै समस्या खेपेको उहाँले सुनाउनुभयो । 
अर्का सम्मानित अर्जुनप्रसाद चौलागाईँले आफूहरूले जोगाएर ल्याएको पार्टीलाई नबिगार्न आग्रह गर्नुभयो । 
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गीता कार्की, ,,बाग्मती प्रदेश कमिटी सचिवालय सदस्य शान्तिराम पौडेल, नेकपा ( एमाले) रामेछापका सचिव पुरुषोत्तम कँडरिया लगायत नेताहरू पनि बोल्नुभएको थियो भने बाग्मती प्रदेश कमिटी सदस्य प्रेम तामाङ, ज्ञानकुमार श्रेष्ठ, जिल्ला कमिटी उपसचिव होतराज ढकाल, मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे लगायतका नेताहरू अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।