detail-img

प्रतिस्पर्धा गरेपछि परिणाम स्वीकार्न सक्ने हुनुपर्छः बरिष्ठ उपाध्यक्ष पोखरेल

ओखलढुङ्गा । नेकपा (एमाले) ओखलढुङ्गा जिल्ला कमिटीको दशौं अधिवेशन सोमबारदेखि शुरु भएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिवेशनको उद्घाटन गर्नुभएको छ । 
उद्घाटन समारोहलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा प्रतिस्पर्धा गर्न तम्सिने अनि प्रतिस्पर्धाबाट प्राप्त परिणमलाई स्वीकार गर्न नसक्ने रोग देखिएको भन्दै प्रतिस्पर्धा गर्दा स्वस्थ प्रतिस्पर्धा गर्न र परिणाम आइसकेपछि विजयी बन्नेलाई विजयी बन्न नसकेका साथीहरूले सबैभन्दा पहिला माला र खादा लगाउन सक्ने हुन आग्रह गर्नुभयो । 
उहाँले नेतृत्व छान्दा तुलनात्मक रूपमा विचारमा प्रष्ट भएको, संगठन निर्माण र परिचालनमा अनुभव भएको, जनताले पत्याएको र चिनेको, भोलि जनताले भरोसा गर्नेलाई छान्न पनि निर्देशन दिनुभयो । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले करप्टेड र फ्रस्टेटेड मान्छे नेकपा (एमाले) हुन नसक्ने र करप्टेड र फ्रस्टेटेडबाट पार्टीलाई बचाउनपर्नेमा जोड दिनुभयो । 
उद्घाटन समारोहमा स्थायी कमिटी सदस्य शेरधन राईले पार्टीमा देखिएका चुनौतीहरूलाई सामना गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 
नेकपा (एमाले) कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्यहरू यज्ञराज सुनुवार, किशोर अधिकारी, खगेन्द्र राई, केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेललगायतले कार्यक्रममा सम्वोधन गर्नुभएको थियो ।