detail-img

मुलुकको विकास र समृद्धि एमालेको नेतृत्वमा मात्र सम्भवः उपाध्यक्ष पौडेल

पर्वत । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गरिने बताउनुभएको छ । 
नेकपा (एमाले) पर्वत जिल्ला कमिटीको १०औं अधिवेशनको मङ्गलबार उद्घाटनपछि सम्वोधन गर्दै उपाध्यक्ष पौडेलले २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने गरी पार्टीलाई विस्तार गरिने बताउनुभयो ।
२०७९ सालको निर्वाचनमा लोकप्रिय मतको हिसाबले मुलुककै पहिलो दल भएको एमालेलाई किनारा लगाएर मुलुकको समृद्धि हासिल हुन नसक्ने भन्दै उपाध्यक्ष पौडेलले मुलुकको विकास र समृद्धि एमालेको नेतृत्वमा मात्रै सम्भव भएको बताउनुभयो । 
उहाँले एमालेको विचारबाट मात्र मुलुकको विकास सम्भव हुने बताउनु भयो । अरु दलहरू मुलुक निर्माणका लागि असफल भइसकेको उहाँको भनाइ छ । आगामी २०८४ मा सहयात्री खोजेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।
उपाध्यक्ष पौडेलले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न नेकपा (एमाले)का नेतादेखि कार्यकर्तासम्मले आफ्नो आनीबानी, ब्यवहार र कार्यशैलीमा सुधार ल्याउनुपर्ने बताउनुभयो । 
नेकपा (एमाले) पर्वत जिल्ला अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, पद्मा अर्याल, स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, केन्द्रीय सदस्य तथा कानूनमन्त्री पदम गिरीलगायत नेताहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो ।