२९औँ तुलसीलाल स्मृति दिवस सम्पन्न
१७ साउन (२०८३), काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै नेपालीहरूको राष्ट्रिय एकताको आधार भएको बताउनुभएको छ ।
२९औँ तुलसीलाल स्मृति दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएकाले विविधताबीचको एकता नै देशको सबैभन्दा ठूलो शक्ति भएको बताउनुभयो ।
सुनसरीसहित पूर्वी तराईका केही जिल्लाहरूमा पछिल्ला दिनमा देखिएको सामुदायिक तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै उहाँले राष्ट्रिय एकता कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा संयम अपनाउन, अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहन तथा सामाजिक सद्भाव र कानुनी शासनलाई सुदृढ बनाउन सबै नेपालीलाई आह्वान गर्नुभयो ।
‘आजको यस संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई संयम अपनाउन, अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासनलाई सुदृढ बनाउन आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न हार्दिक आह्वान गर्दछु’, पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो ।
नेता तुलसीलालको योगदानको चर्चा गर्दै उहाँले तुलसीलालसहित मुलुकमा लोकतन्त्र स्थापित गर्न भूमिका निर्वाह गर्ने नेताहरूको आदर्श र विचारलाई आत्मसात गर्दै अगाडि बढ्न आवश्यक रहेको समेत बताउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले आज प्राप्त लोकतान्त्रिक उपलब्धिका पछाडि अमात्यजस्ता अग्रजहरूको लामो सङ्घर्ष, त्याग र समर्पण रहेको उल्लेख गर्दै उहाँहरुलाई सम्झनु भनेको केवल इतिहासको स्मरण गर्नु मात्र नभई उहाँहरुको आदर्श र मूल्यलाई व्यवहारमा उतार्नु पनि भएको बताउनुभयो ।
सो अवसरमा प्रतिष्ठानका पूर्व अध्यक्ष माधवकुमार नेपाल, पूर्व अध्यक्ष केशव वडाल, तुलसीलालकी पत्नी कमला अमात्य (मरणोपरान्त) र भीमप्रसाद उपाध्याय (मरणोपरान्त)लाई सम्मान गरिएको थियो ।
त्यसैगरी स्मृति दिवसका अवसरमा आयोजित उपत्यका माध्यमिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजयी विद्याथीहरुलाई पुरस्कार र रक्तदानमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी तथा अन्य व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
राष्ट्रिय एकता कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा पूर्व राष्ट्रपति भण्डारीको जोड
सेयर गर्नुहोस्
