detail-img

‘विदेश नीतिमा नेपालले आर्थिक कूटनीतिलाई महत्व दिनुपर्ने’

११ जेठ (२०८१), काठमाडौं ।  नेकपा (एमाले) परराष्ट्र मामिला विभागले ‘बदलिंदो परिवेशमा विदेश नीतिका मुद्दाहरू’ विषयमा आज यहाँ राउण्ड टेबल बैठक आयोजना गर्यो । 
बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले विदेश नीतिका सम्बन्धमा अवधारणापत्र प्रस्तुत गर्दै समृद्धिको यात्रामा रहेको नेपालले आर्थिक कूटनीतिलाई महत्व दिनुपर्ने धारणा राख्नुभयो । 
देशको समृद्धिका लागि आर्थिक विकास र त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग हाम्रो आवश्यकता हो भन्नुहुँदै डाक्टर भट्टराईले बदलिँदो परिवेशमा विदेश नीतिको मुख्य पक्ष आर्थिक सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो । 
उहाँले हाम्रा छिमेकी मुलुकहरू भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने बताउनुभयो ।
प्रमुख डा. भट्टराईले दुई छिमेकी भारत र चीनसँग राम्रो सम्बन्ध स्थापित गर्न निरन्तर वार्ता र छलफल गरिनुपर्नेमा जोड दिनुभयो । वार्ता र छलफलले नै दुई देशबीचका समस्या समाधान हुने र सम्बन्धमा सुधार आउने उहाँले बताउनुभयो । 
डा. भट्टराईले मुलुकमा वैदेशिक हस्तक्षेप रोक्न तथा कसैको प्रभाव र दबाबमा नपर्न कहिले कता, कहिले कता झुकाव राख्न नहुनेमा जोड दिनुहुँदै वैदेशिक हस्तक्षेपलाई निर्मूल गर्दै नेपाललाई स्वतन्त्रतापूर्वक हिंडाउनुपर्ने एमालेको नीति रहेको बताउनुभयो । 
उहाँले भारतसँगको १९५० को सन्धि असमान र असान्दर्भिक रहेको समेत चर्चा गर्नुभयो । 
चीनसँग बीआरआई कार्यान्वयन गर्नुपर्ने र नेपालले अधिकतम लाभ लिनुपर्ने उहाँले बताउनुभयो । 
कसैको प्रभाव र दबाबमा नपरी नेपाल र नेपालीको हित एमालेको परराष्ट्र नीति रहेको उहाँले स्पष्ट गर्नुभयो । 
बैठकको विदेश मामिला विभाग सचिव डा. अञ्जान शाक्यले सहजीकरण गर्नुभएको थियो भने विभागका सदस्यहरूले बदलिंदो परिवेशमा एमालेको विदेश नीतिका बारेमा धारणा राख्नुभएको थियो ।