detail-img

कांग्रेस सहमतिमा नआए वैकल्पिक व्यवस्थाबाट संसद सञ्चालनः उपाध्यक्ष पौडेल

१३ जेठ (२०८१), चितवन । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेस सहमतिमा आउन नमाने वैकल्पिक व्यवस्थाबाट संसद सञ्चालन गरेर जाने बताउनुभएको छ ।  
नेकपा (एमाले) चितवनको ११औं जिल्ला अधिवेशनको शनिवार भरतपुरमा उद्घाटन गर्दै उहाँले आफूलाई लोकतान्त्रिक पार्टी भन्ने काँग्रेसले सदन अवरुद्ध गर्ने काम उचित नभएको बताउनुभयो । संसदीय छानविन समिति बनाउन माग गरेको कांग्रेसले सहमति नगरेर हलो अड्काएको भनाइ उपाध्यक्ष पौडेलले राख्नुभयो ।  
प्रतिपक्षमा वस्नु परेको पीडाले कांग्रेस आत्तिएको भन्दै उहाँले कांग्रेसलाई सरकार बाहिर बस्दाको अनुभव सँगाल्न आग्रह गर्नु भयो । उपाध्यक्ष पौडेलले भन्नुभयो– आउँदो निर्वाचनसम्म प्रतिपक्षमा राखेरै सत्ता गठवन्धनले चुनाब गराउने छ ।
सदनमा कांग्रेसले ताण्डब नृत्य देखाएको छ, लोकतान्त्रिक पार्टीको नाम दिने कांग्रेसले सभामुखविरुद्ध आवाज उठाउने, सत्तापक्षको कुर्सीमा बस्न जाने, पूर्व प्रधानमन्त्रीसँग अभद्र व्यवहार गर्ने जस्ता क्रियाकलाप गर्न थालेको उहाँले बताउनुभयो । 
उपाध्यक्ष पौडेलले भन्नुभयो– लोकतन्त्रमा बहुमतले सरकार चलाउने अल्पमत प्रतिपक्षमा वस्ने हो तर यहाँ अल्पमतले वहुमत माथि निर्देशन दिने जस्ता गतिविधि हुन थालेका छन् । लोकतन्त्रमा अल्पमतको कुरा सुनिन्छ तर अल्पमतले शासन गर्दैन, निर्देशन दिँदैन र मानिँदैन यो ख्याल गर्नुपर्छ । 
देश निर्माणको  अभिभारा एमालेले लिने भन्दै उहाँले आउँदो निर्वाचनबाट एमालेले वहुमतको सरकार बनाउने विश्वास व्यक्त गर्नुभयो । उपाध्यक्ष पौडेलले अहिलेको सरकारले ठुला र दीर्घकालीन काम गर्न नसक्ने भन्दै उहाँले देशको काचुली फेर्ने गरी काम गर्न एमालेको एकल सरकार आवश्यक पर्ने बताउनुभयो ।

देशलाई विकसित बनाउन एमालेको एकल बहुमतको सरकार आवश्यक

कार्यक्रममा पार्टीका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशलाई विकसित राष्ट्रको हैसियतमा लैजानका लागि एमालेको एकल सरकार आवश्यक भएको बताउनुभयो । त्यस कामका लागि अबको निर्वाचनबाट जनताले पार्टीलाई बहुमत दिएर जिम्मेवारी दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले अब समाज प्रविधितर्फ गएको भन्दै हाम्रा दैनिकीमा नयाँ टेक्नेलोजीलाई भित्राएर काम गर्नुपर्ने बताउनुभयो । नेकपा (एमाले) चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पार्टीका पोलिटव्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज पार्वत गुरुङ, केन्द्रीय सदस्यहरूको अतिथिका रूपमा उपस्थिति रहेको थियो । 
कार्यक्रममा पार्टीका पूर्व अध्यक्षहरू, पार्टीमा योगदान दिएकाहरुलाई सम्मान गरिएको थियो । तीन दिनसम्म सञ्चालन हुने अधिवेशनले आउँदो कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।