detail-img

एमाले सपना देख्ने र त्यसलाई यथार्थमा परिणत गर्ने पार्टी होः अध्यक्ष ओली 

१ असार (२०८१), ललितपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले देश विकासको सपना देख्ने र त्यसलाई यथार्थमा परिणत गर्ने पार्टी भएको बताउनुभएको छ । 
आज नेकपा (एमाले) ललितपुर महानगर कमिटीको दोस्रो अधिवेशनको उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेका कामबाट आत्तिएर विरोधी तथा स्वार्थीहरू आफू र  एमालेको बदनाम गर्न लागिरहेको बताउनुभयो । 
आफ्नै नेतृत्वको सरकारले शुरू गरेका भौतिक पूर्वाधारका कामहरू रेलमार्ग, सुरुमार्ग लगायत योजना धमाधम सम्पन्न भएको चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– हामी सुरुङ युगमा प्रवेश गरेका छौं, पानी जहाज र रेल युगमा प्रवेश गरेका छौं, डिजिटल नेपाल युगमा प्रवेश गरेका छौं । यो सबै एमालेकालमा भएको हो । 
एमाले सत्तामा जाँदा र देश बनाउने योजना, कार्यक्रम अगाडि सार्दा ‘सपना देखेर हुँदैन’ भन्ने विरोधीहरूलाई नागढुङ्गा सुरुङ मार्ग निर्माण गरी यथार्थमा परिणत गरिएको स्मरण गराउँदै अध्यक्ष ओलीले यसले यात्रामा ल्याउने सहजताको चर्चा गर्नुभयोे । 
नेकपा (एमाले)माथि देश बनाउने अभिभारा रहेकाले यसलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्नुपरेको बताउँदै अध्यक्ष ओलीले त्यसदिशामा ललिलपुर जिल्लाले ऐतिहासिक कीर्तिमान कायम गर्नुपर्नेमा जोड दिनुभयो । 
ललितपुर राजनीतिक आन्दोलनमा छुट्टै पहिचान बनाएको र तुल्सीलाल लगायतका नेताहरूको जिल्ला भएकाले यस जिल्लाले आगामी दिनमा नेकपा (एमाले)को बर्चश्व कायम भएको जिल्लाका रूपमा आफूलाई उभ्याउनुपर्ने उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले ललितपुर महानगर कमिटीको अधिवेशनले त्यो आधार तयार गर्न सक्नुपर्ने बताउँदै कार्यकर्ताहरूलाई शालिनता र विनम्रतापूर्वक जनतामा जान निर्देशन दिनुभयो । 
अध्यक्ष ओलीले अहिले दैनिक रूपमा विभिन्न स्वार्थका लागि एमालेलाई जोडेर वदनाम गर्दै हिड्नेको बिगबिगी रहेको र त्यसमा कुनै सत्यता नभएको स्पष्ट गर्नुभयो ।  उहाँले भ्रमको तुवालो चिर्दै विकास र समृद्धिको लक्ष्यमा अगाडि बढ्नुपर्ने बताउनुभयो । 
अध्यक्ष ओलीले देश बन्न नदिने शक्तिहरूलाई, स्वार्थी तत्वहरूलाई पराजित गर्नु आवश्यक रहेको बताउनुभयो । देशलाई गरिब बनाएर आफ्नो र विदेशीको स्वार्थका लागि लाग्नेहरूको देशमा कमी नभएकाले देश गरिबीतर्फ उन्मुख भएको उहाँले बताउनुभयो । 
अधिवेशनको उद्घाटन समारोहमा पार्टीका स्थायी कमिटी सदस्य तथा ललितपुर इञ्चार्ज शेर बहादुर तामाङ, पोलिटब्यूरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्यहरू हरिकृष्ण ब्यञ्जनकार र बाबुराम थापा, बाग्मती प्रदेश कमिटी सचिव नवराज सिलवाल, नेकपा (एमाले) ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
समारोहमा ललितपुरका पुराना कम्युनिष्ट नेता सिद्धिलाल सिंहलगायतलाई सम्मान गरिएको थियो । समारोहमा महानगरले प्रकाशित गरेको पुस्तक सङ्कल्पको विमोचन गरिएको थियो । अध्यक्ष ओलीले विभिन्न पार्टीबाट एमाले प्रवेश गर्नेहरूलाई टीका लगाएर स्वागत गर्नुभएको थियो ।