detail-img

पूर्वमन्त्री तथा पुराना कम्युनिष्ट नेता देव पुनः एमालेमा

लोसपाका बरिष्ठ उपाध्यक्ष साह र आम जनता पार्टीका उपाध्यक्ष राम पनि एमालेमा
१७ असार (२०८१), काठमाडौं । पूर्वमन्त्री तथा संविधान सभा सदस्य जितेन्द्र नारायण देव नेकपा (एमाले)मा फर्कनुभएको छ । 
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यालय, च्यासलमा पुराना कम्युनिष्ट नेता देव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा, नेपाल)का बरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री अकवाल अहमद साह (कपिलवस्तु) र आम जनता पार्टीका उपाध्यक्ष रामप्रित राम (सिरहा) लाई टीका र खादा लगाई पार्टीमा स्वागत गर्नुभयो । 
कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो । 
विद्यार्थी फेडरेशनबाट राजनीतिक जीवनमा प्रवेश गर्नुभएका नेता देव विगतमा नेकपा मानन्धर समूह हुँदै नेकपा (एमाले) मा समाहित हुनुभएको र पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य चुनिनुभएको थियो । राष्ट्रिय राजनीतिमा कम्युनिष्ट नेताका रूपमा परिचित देव पछिल्लो समय मधेशी जनअधिकार फोरम हुँदै नेपाली कांग्रेसमा क्रियाशील हुनुहुन्थ्यो । उहाँ नेपाली कांग्रेसका पूर्व राष्ट्रिय सभा सदस्य हुनुहुन्छ ।
उहाँहरूसँगै लोसपा नेपाल र नेपाली कांग्रेसका डेढदर्जन भन्दा बढी कार्यकर्ता आज नेकपा (एमाले)मा प्रवेश गर्नुभयो । एमालेमा प्रवेश गर्नेहरूमा मोहम्मद अफजल मियाँ (कपिलवस्तु), सईद अहमद दर्गी (कपिलवस्तु), अब्दुल रहमान (कपिलवस्तु), फरिद अहमद अन्सारी (कपिलवस्तु), सलिम मुसलमान (कपिलवस्तु), विजय पाल यादव (कपिलवस्तु), हजारी लाल पासी (कपिलवस्तु), मौलाना अब्दुल सलाम सेख मदनी (रुपन्देही), जमाल मुसलमान (कपिलवस्तु), शुभम ठाकुर (धनुषा), छितिज गैरे (पाल्पा), परवेज आलम (कपिलवस्तु), विन्दुकुमार साह (सप्तरी) र देवनारायण साह (सप्तरी) हुनुहुन्छ । 
यसैगरी,नेपाली कांग्रेस, पूर्व महासमिति सदस्य भोगेन्द्र चौधरी (सप्तरी), चन्द्रदेव गोइत (सप्तरी), भुवन यादव (सप्तरी), पुरुषोत्तम चौधरी (सप्तरी) र कृष्णबहादुर कार्की (सिन्धुली) पनि एमालेमा प्रवेश गर्नुभयो ।

धेरै बर्षपछि घर फर्कंदा हुने सुखानुभूति आज मलाई भएको छः नेता देव 
नेकपा (एमाले)मा प्रवेशबारे आफ्नो धारणा राख्दै पुराना कम्युनिष्ट नेता देवले  आफू पार्टी प्रवेश गरेको नभई आज आफ्नो घर फर्केको बताउनुभयो । उहाँले अत्यन्त भावुक हुँदै भन्नुभयो– लामो समय घर छोडेर हिंडेको, घरबाहिर रहँदा दुःखसुख, पीडा व्यहोर्दै हिंडेको मान्छे आफ्नो प्यारो घरमा फर्कंदा जस्तो सुखानुभूति हुन्छ, आज मेरो अवस्था त्यस्तै छ । 
उहाँले २०६२/६३ को जनआन्दोलनपछि नेकपा (एमाले) छाड्नुभएको थियो । त्यसवेला घर छोड्ने आफ्नो रहर नभएको स्पष्टीकरण राख्दै नेता देवले घर छोड्नु आफ्नो गल्ती भएको भन्दै आत्मालोचना गर्नुभयो । तर, घर फर्कंदा पहिलेभन्दा राजनीतिक तथा वैचारिक सवालमा अनुभव हासिल गरेर परिपक्व भई आएको र पार्टीले जे जस्तो जिम्मेवारी दिए पनि शिरोपर गर्ने उहाँले बताउनुभयो । 
नेकपा (एमाले)ले कम्युनिष्ट आन्दोलनलाई सफलतापूर्वक अगाडि बढाउने सन्दर्भमा तत्कालीन महासचिव मदन भण्डारीको अगुवाईमा प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) र जबजलाई अगाडि बढाउने स्पष्ट भिजन भएको राजनेता केपी शर्मा ओली रहेको पार्टीमा फर्कंदा आफू गौरवान्वित भएको नेता देवले वताउनुभयो । 
त्यसैगरी आम जनता पार्टीका उपाध्यक्ष रामप्रित रामले आफ्नो विगतको भूमिकाकाबारे चर्चा गर्दै मूल घरमा फर्किएकाले विश्वास गरेर जिम्मेवारी दिन र मनोबल उच्च राखिदिन आग्रह गर्नुभयो । उहाँले अब आफ्नो कारणबाट पार्टीको झण्डा झुक्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।