detail-img

एमाले परिष्कृत समाज निर्माण गर्न हिंडेको परिष्कृत पार्टीः अध्यक्ष ओली

१७ असार (२०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा  ओलीले नेपाली जनतालाई सुखी बनाउने महान् उद्देश्य र गन्तव्य बोकेर एमाले अघि बढिरहेको बताउनुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले सबै नेपाली जनता सुखी हुनुपर्दछ भन्ने सोचका साथ नेकपा (एमाले) अघि बढेको बताउनुभयो ।  
सुखी हुनको लागि गरिबी र अभाव हुन नहुने बताउँदै अध्यक्ष ओलीले त्यसका लागि अनुकूल वातावरण बनाउने उद्देश्य बोकेर नेकपा (एमाले) अगाडि बढेको प्रष्ट पार्नुभयो ।
हरेक नागरिकले सुरक्षित, निर्भय र सम्मानपूर्वक बाँच्न पाउनुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– हाम्रो अन्तिम गन्तव्य सुखी नेपाली हो, बिना समृद्धि सुख प्राप्त हुँदैन, सुखको लागि समृद्धि आवश्यक छ ।
नेकपा (एमाले) राजनीतिका लागि राजनीति गर्न नआएको र केही व्यक्तिको स्वार्थ पुरा गर्नमा केन्द्रित नभएको स्पष्ट पार्नुहुँदै अध्यक्ष ओलीले एमालेले देश बनाउनको लागि र जनताका समस्या समाधानका लागि राजनीति गरेको बताउनुभयो ।
उहाँले आज पनि एमालेका पाँचलाख सदस्यहरू यो अभियानमा देशभरि खटिरहेको बताउनुभयो । 
नेकपा (एमाले) एकमना एकता र एक लयमा अगाडि बढिरहेको बताउँदै अध्यक्ष ओलीले परिस्कृत समाज निर्माण गर्न हिंडेको हुँदा यसलाई आफूहरूले अन्य पार्टीभन्दा फरक ढङ्गले परिष्कृत पार्टीका रूपमा अगाडि बढाउँदै गरेको बताउनुभयो । 
उहाँले पार्टीमा गुटबन्दी, मोर्चाबन्दीको कुनै गुन्जायस नरहेको र एकअर्काको आलोचना होइन, आत्मालोचनामा जोड दिइने स्पष्ट गर्नुभयो । आलोचना सच्चिनका लागि सहयोग गर्ने गरी हुनुपर्ने  अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।
एमालेका नेताकार्यकर्ता अनुशासित र एकताबद्ध भएर नमुना काम गर्ने गरी अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष ओलीले समाजलाई अघि बढाउन सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । २०८४ मा हुने निर्वाचनमा एमालेले सबै ठाउँमा जित्नुपर्ने र देशको शासन सत्तामा रहेर  देश बनाउने काममा लाग्नुपर्ने भनाइ उहाँले राख्नुभयो । 
अध्यक्ष ओलीले देश बनाउने पार्टी नेकपा (एमाले) मात्र भएको बताउँदै भ्रममा परेर अन्य पार्टीमा रहेका सबै नेताकार्यकर्र्तालाई एमालेमा आबद्ध हुन आह्वान गर्नुभयो । 
कार्यक्रममा पुराना कम्युनिष्ट नेता जितेन्द्र नारायण देव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका बरिष्ठ उपाध्यक्ष अकवाल अहमद साह लगायत एमालेमा प्रवेश गर्नुभएको थियो ।