detail-img

उपमहासचिव रिमाल नेतृत्वको टोलीद्वारा युनानमा पर्यटकीय, औद्योगिक तथा विकासका कामहरू अवलोकन

१९ असार (२०८१), युनान, चीन । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालको नेतृत्वमा चीन भ्रमणमा रहेको उच्चस्तरीय भ्रमण टोलीले युनान प्रान्तका विभिन्न क्षेत्रको अवलोकन गरिरहेको छ । 
युनान प्रान्तमा रहँदा भ्रमण टोलीले खासगरी यहाँका पर्यटकीय तथा ऐतिहासिक रूपमा महत्वपूर्ण ठाउँहरूका साथै विकास र औद्योगिक क्षेत्रको अवलोकन गरेको छ । 
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा दश दिने चीन भ्रमणमा रहेको नेकपा (एमाले)को टोलीले मङ्गलबार चीनसँग सीमा जोडिएको छिमेकी देश भियतनामको सीमाक्षेत्रसम्म पुगेर त्यहाँ चीनले छिमेकीसँगको सम्बन्ध घनिष्ट बनाउन गरेका विकासका काम र दुईदेशका जनताबीचको सम्बन्धलाई गाढा बनाउन दिएको महत्वका बारेमा जानकारी हासिल गर्यो । 
सन् १९८० को मैत्रीपूर्ण सम्झौतापछि चीन र भियतनामबीच भाइचारा सम्बन्ध रहँदै आएको छ । दुबै देशको आर्थिक अवस्था परिवर्तनार्थ चीनले सिमानामा रहेको हेकु शहरमा नयाँ आधुनिक पक्की पुल, स्वतन्त्र व्यापार क्षेत्र र बहुआयामिक सेवा केन्द्रको स्थापना गर्नुका साथै दुई देशको आवतजावतलाई सुलभ बनाएको छ । साथै दुई देशबीच जनस्तरको सम्बन्ध सुधारका निम्ति हरेक महिना द्विपक्षीय सांस्कृतिक गतिविधि र रचनात्मक कार्यक्रम समेत हुँदै आइरहेका छन् । 
यसैगरी नेपाली भ्रमण टोलीले हुनान इनर्जी इन्भेस्टमेन्ट कम्पनीको स्थलगत भ्रमण गरेको छ । यस कम्पनीलाई २०२२ देखि अनुसन्धान र विकास, कृषि र उत्पादन, जडिबुटी सङ्कलन र उत्पादन, परम्परागत पेशालाई संरक्षण र आधुनिकीकरण, तालिम र अनुसन्धान, सूचना र भौतिक व्यवस्थापन पक्षलाई ध्यान दिएर जागरण केन्द्रको रूपमा विकास गरिएको छ । 
त्यस्तै यस क्षेत्रको विकासलाई कसरी सिपिसीले नेतृत्व दिइरहेको छ र यहाँका जनतालाई विकासमा कसरी जोडेको छ भन्ने विषयमा जानकारी गराउन चिनियाँ पक्षबाट भ्रमण टोलीलाई स्थानीय पार्टी कमिटी र जनप्रतिनिधिको कार्यालय अवलोकन गराइयो । 
चिनियाँ नेताहरूका अनुसार सिपिसीका महासचिव राष्ट्रपति सी. जिङपिङले अगाडि सार्नुभएको ‘राष्ट्रिय जागरण र सुखी चिनियाँ’को राष्ट्रिय आकाङ्क्षालाई सफल पार्न सबै तहको पार्टीपङ्क्ति र जनप्रतिनिधि आधुनिक र सम्पन्न चीन निर्माणमा लागेका छन् । 
यसैगरी भ्रमण टोलीले हङ्ग शहरको पश्चिममा रहेको चीनकै ठुलो र  अत्याधुनिक प्रविधिक युक्त जइनसु हङ्गबी खाद्य उद्योगको भ्रमण गरेको छ । यस उद्योगका उत्पादनले चिनियाँ बजारका ७० प्रतिशत बजार ओगटेको छ । यस उद्योगबाट अचार लगायत आठ प्रकारका सामान उत्पादन हुने गरेका छन् । 
साथै पूर्व निर्धारित कार्यतालिका अनुसार भ्रमण टोलीले ‘विशान’ अल्पसङ्ख्यक समुदायको समग्र विकासका निम्ति स्थानीय पार्टी कमिटीले सेवा केन्द्रमार्फत् गर्दै  आइरहेका नमुना कामहरूको अवलोकन भ्रमण गरेको छ । 
त्यस्तै भ्रमण टोलीले माटाका आधुनिक भाडा तयार गर्ने चीनको एकमात्र पोर्ट कम्पनी अवलोकन गरेको छ । यस कम्पनीका उत्पादन विश्व बजार ढोको चिनियाँहरू बताउँछन् । त्यसैगरी छाङगुयान समुदायको पुरातात्विक महत्व राख्ने गाउँको भ्रमण गरेको छ । 
नेकपा (एमााले)को उच्चस्तरीय भ्रमण टोली हवेइ प्रान्तमा नवनिर्मित अत्याधुनिक सुविधायुक्त स्मार्ट सिटी सियाङ्गाआको भ्रमण गरी शनिबार युनान प्रान्त आइपुगेको हो । 
युनानमा भ्रमण टोलीलाई सिपिसीका स्थायी कमिटी सदस्य कमरेड छि चाला  र सिपिसी अन्तर्राष्ट्रिय विभाग केन्द्रीय कमिटीका काउन्सेलर कमरेड यन रूइडुङ्ग लगायत युनान प्रदेश अन्तर्गतका उच्चस्तरीय पदाधिकारीहरूले भव्य स्वागत गर्नुभएको थियो ।  
भ्रमण टोलीमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिट्ब्युरो सदस्यहरू विनोद श्रेष्ठ, सुजिता शाक्य, केन्द्रीय सदस्यहरू, प्रदेश तथा जिल्ला अध्यक्षहरू, विभाग तथा जनसङ्गठनका सदस्यहरू गरी २९ जना हुनुहुन्छ ।