detail-img

सफलताका लागि इमान्दार प्रयास आवश्यकः अध्यक्ष ओली

२० असार (२०८१), बुटवल । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सफलता प्राप्तिका लागि इमान्दार प्रयास आवश्यक हुने बताउनुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देहीले एसईई उत्तीर्ण विद्यार्थीको सम्मानमा आज बुटवलमा आयोजना गरेकोे कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विना प्रयास र इमान्दारी कुनै पनि कुरामा सफलता प्राप्त नहुने बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– इमान्दारिता सफलताको पुँजी हो, इमान्दारिताले सफलतालाई चुम्छ ।
उहाँले सबैभन्दा पहिले आफूले आफैलाई चिन्नुपर्ने बताउनुभयो । ज्ञानको शुुरूरुवात नेपालबाटै भएको भन्ने कुरा शास्त्र र प्रमाणले पुष्टि गरेका अध्यक्ष ओलीले स्पष्ट पार्नुभयो । 
उहाँले भन्नुभयो– हामी त्यस्ता पुर्खाका सन्तान हौं, जुन पुर्खाले ज्ञानको आविष्कार गरेका थिए, शिक्षाको आविष्कार गरेका थिए, यस धर्तीबाटै ज्ञानको सम्प्रेषण गरिएको थियो । 
लय, धुन, छन्द, सङ्गीत वाद्यवादन, शल्यक्रिया, आयुर्वेद, खगोल शास्त्र सबैको शुरूवात नेपालबाटै भएको र ज्ञानका हरेक पाटा नेपालमा ऋषि मुनिहरूले शुरू गर्नुभएको उहाँले प्रष्ट पार्नुभयो । नेपालको गौरवपूर्ण इतिहासलाई बिर्सन नहुनेमा उहाँले जोड दिनुभयो ।
नेपाल कसैको उपनिवेशमा नगएको सधैं स्वतन्त्र राष्ट्रको रूपमा स्थापित हुनु नेपालको गर्व भएको अध्यक्ष ओलीले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– हामी नेपालीको मानव मष्तिष्क विद्वान पुर्खाहरूको निरन्तरता भएकाले निक्कै विलक्षणको रहेको छ । हाम्रा पुर्खाहरू रचनात्मक र सिर्जनात्मक अनुसन्धानकर्ता थिए । 
उहाँले अवसर नै पाएन भने र आफ्नो रुचिको काम पाएन भने मानिसको प्रतिभा मर्ने तर प्रतिभा अनुसारको अवसर पाउने हो भने हरेक नेपाली जेहन्दार रहेका स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो– मौका पायो भने नेपालीले गर्छ । 
मौका परीक्षाका लागि केपी ओली फेसबुक पेजबाट निःशुल्क अनलाईन कक्षा
अध्यक्ष ओलीले एसईईको मौका परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई एमालेले निःशुल्क अनलाइन कक्षाको व्यवस्था मिलाउने बताउनुभयो ।
देशभरिका विद्यार्थीलाई निःशुल्क अनलाइन क्लास लिने व्यवस्था आफूले मिलाउने घोषणा गर्दै उहाँले भन्नुभयो– उहाँहरूलाई उत्तीर्ण गराउनका लागि अङ्ग्रेजी, गणित, ऐच्छिक गणित, विज्ञान र सामाजिक विषयका कक्षाहरू अनलाइन मार्फत् सबै विद्यार्थीलाई उपलब्ध गराइने छ । काठमाडौंबाट गुणस्तरीय शिक्षकहरूले अनलाइन मार्फत् शिक्षा दिनुहुने छ, त्यसका लागि केपी ओली फेसबुक पेजमा कन्ट्याक गर्नुहोला, सबैले अनलाइन क्लासमा जोडिएर अनलाइन क्लासको लाभ लिन सक्नु हुने छ ।
अध्यक्ष ओलीले धेरै ज्ञान र क्षमता भएका शिक्षकहरूले अनलाइन कक्षा लिने जानकारी दिनुभयो । उहाँले विद्यार्थीलाई आत्मविश्वासका साथ अध्ययन गर्न आग्रह गर्नुभयो ।
उहाँले फेबुक पेजमा कुनै कन्फ्युजन भयो भने मोवाइल नम्बर ९८४१८९७६१३ मा सम्पर्क गर्न  विद्यार्थीलाई आग्रह गर्दै विद्यार्थीलाई समस्या परे त्यो नम्बरले मद्दत गर्ने स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले बढीभन्दा बढी विद्यार्थी उत्तीर्ण होऊन् र उनीहरूको भविष्य उज्ज्वल होस् भनेर आफूले यो काम गर्न लागेको बताउनुभयो ।
उहाँले शिक्षकहरूलाई समय अनुसारको सीप र ज्ञान दिन नसक्दा विद्यार्थीलाई सिकाउने कुरामा कमी भएको र यस वर्षको एसईई परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण भएको बताउनुभयो । शिक्षकले गुणस्तरीय तालिम नपाउँदा ज्ञान ट्रान्सफर गर्न नसकेको कारण अहिलेको अवस्था आएको अध्यक्ष ओलीको भनाइ छ । विद्यार्थीहरू कमजोर भएका कारण अनुत्तीर्ण नभएका उहाँले बताउनुभयो ।
असफलताले नै पाठ सिकाएर मानिसलाई सफल बनाउने बताउँदै उहाँले विश्वमा यस्ता धेरै उदाहरण रहेको प्रष्ट पार्नुभयो । अध्यक्ष ओलीले आफूमा आत्मविश्वास जगाएर काम गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।
मस्तिष्कमा घमण्ड पसेपछि ज्ञान पस्न नसक्ने बताउँदै उहाँले परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई दिमागको कुनै पनि कुनामा घमण्ड नराख्न आग्रह गर्नुभयो । 
विद्यार्थीलाई निरन्तर ज्ञान प्राप्त गर्ने कोसिसमा लाग्न सुझाव दिँदै नियमित अध्ययन नगर्ने हो भने कुनै पनि डिग्रीले काम नगर्ने उहाँले प्रष्ट पार्नुभयो ।
राष्ट्र निर्माणमा सबैले योगदान गर्नुपर्ने
कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र निर्माणका लागि सबैले आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताउनुभयो । 
उपाध्यक्ष पौडेलले अब भरोसा र उत्साहका साथमा कदम अगाडि बढाउने वातावरण बनेको बताउनुभयो । 
उहाँले देशको समृद्धिका निम्ति योगदान गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने सङ्कल्पका साथ एमाले र कांग्रेसका बीचमा समझदारी बनेको जानकारी दिनुभयो ।
हिजो देशमा समृद्धिको काम गर्न सफल हुनुभएका केपी शर्मा ओली केही दिनमा देशको प्रधानमन्त्री बन्न लाग्नुभएकाले अब देश समृद्धिको बाटोमा अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो । 
उपाध्यक्ष पौडेलले भन्नुभयो– त्यो सरकारले अरू क्षेत्रका समस्याका साथसाथै शैक्षिक क्षेत्रका समस्या पनि नयाँ उचाइबाट समाधान गर्दै गुणस्तरीय शिक्षा आर्जन गर्ने र त्यसभित्र रहेर राष्ट्र निर्माणमा योगदान दिने नेपाली विद्यार्थीको चाहना पुरा हुँदै छ ।
उहाँले एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीको उज्वल भविष्यको पनि कामना गर्नुभयो । नेपालको शैक्षिक क्षेत्रमा रुपन्देहीको महत्वपूर्ण योगदान रहेको बताउँदै उपाध्यक्ष पौडेलले यो अझ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।