detail-img

अब बन्ने सरकारलाई असफल हुने छुट छैनः अध्यक्ष ओली 

२१ असार (२०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेपाली कांग्रेसबीचको समझदारीमा आफ्नो नेतृत्वमा अब गठन हुने सरकार देशका समस्या समाधान गर्दै जनतामा आशा जगाउने काममा केन्द्रित हुने बताउनुभएको छ । 
आज नेकपा (एमाले) केन्द्रीय विभागका प्रमुख तथा सचिवहरूको बैठकलाई पार्टी कार्यालय, च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले दुई बलिया शक्ति मिलेर सरकार गठन गर्ने कुरा देशका समस्या समाधान गरी अगाडि बढ्ने अन्तिम विकल्प भएकाले नयाँ बन्ने सरकारलाई असफल हुने छुट नभएको प्रस्ट पार्नुभयो । 
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सहमतिको सरकार बनाउने नाममा कांग्रेसलाई सरकारमा भित्र्याउने र एमालेलाई गतबर्षजस्तै सरकारबाट बाहिर पार्ने योजनाका साथ अगाडि बढेपछि अहिलेको नयाँ परिस्थिति सिर्जना भएको स्पष्ट गर्नुभयो । आफूलाई प्रधानमन्त्री बन्न दिनुहुँदैन भनेर कम्युनिष्ट नेताहरू नै लागिरहेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– सरकार परिवर्तन हुन्छ, हामी सरकारमा हुन्छौं । 
अध्यक्ष ओलीले दुई ठुला दल नयाँ समीकरणका लागि समझदारी गरिसकेको परिस्थितिमा प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा हास्यास्पद भएको भन्दै मानिस कहिले काहिँ भ्रममा बाँचिरहने बताउनुभयो । 
अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अत्यन्त उदारमनका साथ प्रधानमन्त्री बनाइएको र एमाले सरकारमा सहभागी भन्दा पनि सहयोगीको रूपमा उपस्थिति भएर सहयोग गरेको चर्चा गर्दै अध्यक्ष ओलीले अनेक प्रयास गर्दा पनि देशले भोगिरहेका समस्या समाधान गर्ने दिशामा सरकारबाट ठ्याक्कै केही नभएको बताउनुभयो । 
अध्यक्ष ओलीले अब बन्ने सरकारले विभिन्न क्षेत्रमा गर्नुपर्ने सुधारका कामका लागि समाधानसहित ठोस सुझाव दिन विभागहरूलाई निर्देशन दिनुभयो ।  
अध्यक्ष ओलीले पार्टीको नेतृत्वमा सरकार बने पनि सरकारको काम र पार्टीको काम फरक विषय भएकाले पार्टी निरन्तर मिसन–२०८४ मा लाग्ने बताउनुभयो । पार्टीका लागि मिसन–२०८४ सफल पार्ने कुरा प्रमुख भएकाले सरकारमा रहेका कारण यस अभियानलाई कुनै पनि हालतमा कमजोर र सिथिल पार्न नहुने बताउनुभयो ।
अध्यक्ष ओलीले विभाग प्रमुख तथा सचिवहरूलाई  मिसन–२०८४ लाई केन्द्रविन्दुमा राखेर पार्टी काममा लाग्न निर्देशन दिँदै मिसन–२०८४ सफल हुने विश्वास व्यक्त गर्नुभयो । 
बैठकमा महासचिव शंकर पोखरेलले नेकपा (एमाले) र नेपाली कांग्रेस राजनीतिक स्थायित्व र देशको समग्र क्षेत्रमा सुधारको सङ्कल्प र अठोटका साथ अगाडि बढ्ने समझदारीमा पुगेको प्रसङ्ग जोड्दै सरकारलाई त्यस काममा सहयोग पुग्ने गरी विभागहरूबाट सुझाव दिन निर्देशन दिनुभयो । 
लोकतन्त्रलाई सही बाटोमा अगाडि बढाउन तथा जनतामा रहेको निरासालाई चिर्नका लागि दुई ठुला दल राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारीमा पुगेको बताउनुभयो । 
महासचिव पोखरेलले दुई ठुला दलले संयुक्त सङ्कल्प गरेका हुँदा नयाँ सरकार गठनपछि अर्थतन्त्रमा सुधार, जनतामा रहेको निरासालाई आशामा बदल्ने, मुलुकमै रोजगारी सिर्जना गरी युवा विदेश पलायन रोक्ने लगायत विद्यमान समस्या समाधानका दिशामा देश अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले शुरूमा दुई ठुला दलबीच समझदारी भएपनि राष्ट्रिय सहमतिको सरकारको आधार तयार गर्ने गरी न्यूनतम साझा कार्यक्रम बनाएर अगाडि बढिने स्पष्ट गर्नुभयो । 
बैठकमा उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, उपमहासचिव तथा संसदीय विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ लगायत पार्टीका ३२ वटै विभागका प्रमुखहरूले आ–आफ्ना विभागका कामका बारेमा कुरा राख्नुभएको थियो ।