detail-img

चीन भ्रमणबाट दुईपक्षीय सम्बन्ध अझ घनिष्ट हुने विश्वास

२१ असार (२०८१), युनान, चीन । नेकपा (एमाले)का उपमहासचिव  बिष्णु रिमालको नेतृत्वमा चीन भ्रमणमा रहेको उच्चस्तरीय टोली र चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका उपसचिव शी युगाङ बीच आज कुन्मिङमा भेटघाट भएको छ । 
सो अवसरमा दुई देश बीचको  सम्बन्ध, सहकार्य, दुई  पार्टी  बीचको सम्बन्ध लगायतका विषयमा छफफल भएको थियोे । 
भेटमा उपमहासचिव  रिमालले दुई देशका कम्युनिष्ट पार्टीबीचको सम्बन्ध अझ  घनिष्ट बनाउन भ्रमण कोशेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो ।  
उहाँले नेकपा (एमाले)लाई चीन भ्रमणका लागि निमन्त्रणा गरी यहाँको विकास, गरिबी उन्मूलन र जनताको जीवनस्तर सुधारका लागि गरिएका प्रयासका बारेमा जानकारी हासिल गर्ने अवसर उपलब्ध गराएकोमा सिपिसी, अन्तर्राष्ट्रिय विभाग र न्यानो आतिथ्यताका लागि स्थानीय पार्टी कमिटीहरूलाई धन्यवाद दिनुभयो । उपमहासचिव रिमालले भ्रमण अत्यन्त सफल भएको बताउनुभयो । त्यसैगरी चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तीय नेता शीले चीनको गरिबी उन्मूलन कसरी सम्भव भयो र चीन सरकारले विकासका कार्यक्रम कसरी अगाडि बढाइरहेको छ भन्नेमा प्रकाश पार्नुभएको थियो । 

युनान प्रान्तका महत्वपूर्ण ठाउँहरूको अवलोकन 
यसैबीच, उपमहासचिव रिमाल नेतृत्वको टोलीले युनान प्रान्तका विभिन्न ठाउँको अवलोकन भ्रमण गरेको छ । 
टोलीले बिहीबार युनान प्रान्तको केइ गाउँको भ्रमण गरेको छ ।  जुन गाउँ १९३० फिटको उचाइमा करिब दुई हजार बर्षदेखि अवस्थित छ र जुन बस्तीलाई ८० प्रतिशत जङ्गलले ढाकेको छ । ‘यि’ समुदायको बसोवास रहेको यो सुन्दर गाउँले आधुनिक चीनमा पनि आफ्नो परम्परा, संस्कार र संस्कृतिलाई जीवन्त राखेको छ ।  
पाहुनालाई भगवानको दर्जा दिने यो समुदाय गाउँमा आउने जो कोही  पाहुनालाई भव्य स्वागत गर्छन् । यस गाउँमा कुनै राम्रो काम शुरूवात गर्दा अनिवार्य एउटा बिरुवा रोप्नुपर्ने नियम छ । प्रदेश सरकार र सिपिसीले यो गाउँको मौलिकता बचाउन विशेष योजनासहित पुनःनिर्माणको काम गरेका छन् । 
त्यस्तै टोलीले मेल शहरमा पर्ने डोङफेङ्गुन क्षेत्रको अवलोकन भ्रमण गरेको छ । यो क्षेत्र अन्तर्राष्ट्रिय रङ्गभूमिका रूपमा विकास भएको र हुँदैै गरेको क्षेत्र हो । 

त्यसैगरी टोलीले बुधबार नमूना  व्यवसाय गरेर सफलताको शिखर चुमेका चीनका उदाहरणीय क्षेत्रको अवलोकन गरेको छ । 
‘जहा इच्छा, त्यहाँ उपाय’ भने झैं चीनको युनान प्रान्त अन्तर्गत रहेको यग्गाउँ काउण्टीको सानो काइयुन गाउँ अहिले  फूलबारीको राजधानी बनेको छ । यो गाउँ कुनै बेला कालोमाटो भएको उत्पादन नहुने गाउँको रूपमा परिचित थियो । 
सिमेन्ट उद्योग स्थापना भएपछि त यस गाउँमा मान्छे बस्न समेत छाडेका थिए । यहाँका वासिन्दाको बढ्दो बसाइँसराइँ रोक्न स्थानीय सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको स्थानीय पार्टी कमिटीले जनता साझेदारी कार्यक्रम सञ्चालन गरेर जग्गा  भाडामा लिई फूलको खेती शुरू गरेपछि यो ठाउँ अहिले  फूलबारीको राजधानी भनेर चिनिन्छ । 
यहाँ आठहजार जातका  फूलहरू फुलाइन्छ । एक आरएमबीदेखि एउटा फूलको तीन सय आरएमबीसम्म पर्ने  फूलहरू यो ठाउँमा उत्पादन हुन्छन् ।  विना माटो हजारौं  फूलको उत्पादन गरिरहेको यो समूहले वर्षेनि १७ करोड आरएमबीको कार‍ोबार गरिरहेको छ । कुनै बेला मान्छे बस्न नमान्ने यस ठाउँमा अहिले दैनिक हजारौं मानिस घुम्न आउँछन् । 
त्यस्तै टोलीले कुनै बेला मरूभूमिको नामले चिनिने अहिलेको ‘मेल ताइपिङ्घु फरेस्ट टाउन’ क्षेत्रको पनि भ्रमण गरेको छ । यो क्षेत्र पुनःनिर्माणपछि बर्सेनि चार लाख पचास हजार पर्यटकलाई स्वागत गर्ने अनुपम पर्यटन क्षेत्रमा रूपान्तरण भएको छ । 
युनान ताइपिङ्घु इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट लिमिटेडले  मरूभूमिलाई अहिले अर्बौ लगानी गरेर रमणीय क्षेत्रमा परिणत गरेको छ । यहाँ मानव निर्मित दश वटा सानाठूला तालहरू छन् भने यहाँ निर्माण भएका सबै पार्क, जङ्गल, होटल र अन्य सबै संरचना पर्यावरणीय दृष्टिले निर्माण भएका छन् । करिव नौहजार स्क्वायर किलोमिटरमा बनेको यो पार्क पछिल्लो दशकमा बनेका विश्वका सबै शहरको तुलनामा पर्यावरणीय दृष्टिले कुनै भन्दा कम छैन भन्ने चिनियाँहरूको भनाइ छ । यो पार्क मेल शहर र युनान प्रान्तको आयआर्जनको प्रमुख मेरूदण्डको रूपमा विकास गर्ने लक्ष्यका साथ निर्माण गरिएको  स्थानीयहरू बताउँछन् । 
उपमहासचिव रिमालको नेतृत्वमा रहेको २९ सदस्यीय एमालेको भ्रमण टोलीमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्यहरू विनोद श्रेष्ठ, सुजिता शाक्य, केन्द्रीय सदस्यहरू, प्रदेश तथा जिल्ला अध्यक्षहरू, विभाग तथा जनसङ्गठनका कमरेडहरू सहभागी हुनुहुन्छ  । टोली दश दिने भ्रमण पुरा गरी शनिबार स्वदेश फर्कंदै छ ।