detail-img

प्रधानमन्त्री अल्पमतमा पर्नुभएकाले राजीनामा दिनुपर्ने संसदीय दलको निष्कर्ष

२३ असार (२०८१), काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक आज संसद भवन नयाँ बानेश्वरमा बस्यो । 
पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेकपा (एमाले)ले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको परिस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्पष्टतः अल्पमतमा परेकाले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो । 
बैठकपछि नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश वर्तौलाले नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेपछि प्रधानमन्त्री प्रचण्ड स्पष्ट अल्पमतमा पर्नुभएकाले पदमा बसिरहनु उचित नहुने भन्दै तत्काल राजिनामा दिन माग गर्ने निर्णय बैठकले गरेको बताउनुभयो । ‘सरकार अल्पमतमा परेको छ, काम चलाउ सरकारका प्रधानमन्त्री ‘प्रचण्ड’ले लामो समय राजीनामा नदिइ पदमा बस्नु अनुचित हो’, प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘काम चलाउ सरकारलाई कुनै पनि महत्वपूर्ण निर्णय नगर्न बैठकले आग्रह गरेको छ, नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरिएको छ।’ जनमत गुमाइसकेको सरकारले मुलुकलाई दुरगामी असरपर्ने निर्णय गर्नु संविधानविपरीत हुने भन्दै बैठकले सरकारलाई सचेत गराएको उहाँले जानकारी दिनुभयो । 
बैठकले नेकपा (एमाले) र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार गठनका लागि भएको समझदारीको स्वागत गर्दै नयाँ स्थिर सरकार गठनका लागि नेपाली कांग्रेसको पहल र  भूमिकाका लागि धन्यवाद दिएको वर्तौलाले बताउनुभयो ।