detail-img

‘प्रधानमन्त्री प्रचण्डमा सत्तामा रुचि देखियो, काममा रुचि देखिएन’

२४ असार, (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले र नेपाली कांग्रेसको समझदारीमा बन्ने अबको सरकार राजनीतिक स्थायित्वका साथै देश र जनताका समस्या समाधानका लागि अन्तिम विकल्प भएको  बताउनुभएको छ । 
महासचिव पोखरेलले सङ्कटको अवस्थामा रहेको अर्थतन्त्रलाई माथि उठाउने र जनतामा रहेको निराशालाई आशामा परिणत गर्ने प्रतिवद्धतासहितको समझदारीमा एमाले र कांग्रेस पुगेकाले यस दिशामा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । 
आज नेकपा (एमाले)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले तयार पारेको सञ्चार नीतिको मस्यौदा बुझ्दै महासचिव पोखरेलले उक्त कुरा बताउनुभएको हो । 
मुलुकका दुई ठुला दल सम्मिलित सरकार देशका समस्या समाधान गर्न र जनतामा पैदा भएको निराशालाई आशामा परिणत गर्न नसके राष्ट्र नै असफल हुनसक्ने भएकाले सञ्चार क्षेत्रबाट समेत सकारात्मक सहयोग हुनुपर्ने उहाँको भनाइ छ । 
महासचिव पोखरेलले एमालेले चार महिना पहिला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएको भए पनि देश र जनताका समस्या समाधानमा सफल हुन नसकिएको बताउनुभयो । ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’मा जनतामा रहेको निराशा चिर्ने कुरामा खासै रुचि देखिएन’, उहाँले भन्नुभयो । 
प्रधानमन्त्री ‘प्रचण्ड’लाई सफल बनाउन एमालेले हदैसम्मको प्रयास गरेको स्मरण गर्दै महासचिव पोखरेलले भन्नुभयो– जनतामा निराशा, अर्थतन्त्रमा सङ्कट, समाजमा एक प्रकारको अराजकता पैदा भएको बेला त्यसलाई कसरी चिर्ने भन्ने कुरामा प्रचण्डमा कुनै चिन्ता देखिएन । 
प्रधानमन्त्रीलाई काम गर्न सजिलो होस् भनेर एमालेले सरकारमा सहभागी भए पनि प्रचण्डले छाडेका मन्त्रालय लिएर समेत सहयोग गरेको, आलोपालो सरकारको कुरा भएको भए पनि यो सरकारले राम्रोसँग काम गर्छ भने पुरै अवधि गर्दा पनि हुन्छ भनेको चर्चा गर्र्दै महासचिव पोखरेलले भन्नुभयो– निराशा चिर्नेतर्फ, परिणाम देखाउनेतर्फ प्रधानमन्त्रीले प्रयास गरेको देखिएन, सत्तामा रहने कुरामा रुचि ज्यादा देखियो, काममा रुचि देखिएन । 
पार्टीका स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महासचिव पोखरेललाई सञ्चार नीतिको मस्यौदा हस्तान्तरण गर्नुभयो । डा. महेन्द्र विष्टको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलले सञ्चार नीति मस्यौदा गरेको हो ।