detail-img

प्रवासीद्वारा सम्मान

काठमाडौं । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले नेकपा (एमाले)का उपमहासचिव तथा केन्द्रीय स्कुल विभागका प्रमुख प्रदीप ज्ञवाली लगायत नेता तथा प्रशिक्षकहरूलाई सम्मान गरेको छ । 
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका पदाधिकारी तथा सदस्यहरूका लागि पार्टी स्कुल विभागद्वारा हालै आयोजित प्रशिक्षणमा पार्टीका नीति, विचार, संगठन निर्माण, प्रवासमा रहेका नेपालीका समस्यामा मञ्चको भूमिका लगायतका विषयमा प्रशिक्षण दिनुहुने नेताहरू तथा विज्ञ प्रशिक्षकलाई सम्मान गरेको हो । 
यसरी सम्मानित हुनेहरूमा पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डाक्टर राजन भट्टराई,पोलिटव्यूरो सदस्य इश्वरी रिजाल, स्कुल विभागका सचिव घनश्याम कोइराला लगायत हुनुहुन्छ ।  
प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य विमला भण्डारी (रुस) र स्कुल विभाग प्रमुख गोविन्द पौडेल (पोर्चुगल)ले आज पार्टी कार्यालय, च्यासलमा प्रशिक्षण दिनुहुने नेताहरूलाई सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुभयो ।