detail-img

सौर्य एयरको विमान दुर्घटनाबारे छानविन गर्न सरकारद्वारा आयोग गठन 

एमालेद्वारा दुर्घटनाप्रति दुःख व्यक्त 

९ साउन, (२०८१), काठमाडौं । सौर्य एयरको विमान दुर्घटनाबारे छानविन गर्न सरकारले पाँच सदस्यीय जाचबुझ आयोग गठन गरेको छ । विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको शोकमा भोलि झण्डा आधा झुकाउने निर्णय सरकारले गरेको छ ।


सौर्य एयरको विमान काठमाडौंबाट पोखरा उडेलगत्तै आज बिहान त्रिभुवन विमानस्थलमै दुर्घटनामा परेको थियो । विमानमा चालक दलका सदस्यसहित १९ जना रहेकोमा पाइलट मनिषरत्न शाक्यबाहेक सबैको ज्यान गएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विमान दुर्घटनास्थलको अवलोकन गर्नुका साथै केएमसी अस्पताल जानुभई त्यहाँ उपचार भइरहेका घाइते पाइलट शाक्यको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको थियो ।
विमान दुर्घटनास्थल अवलोकनपछि  प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलस्थित  नागरिक उड्ययन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा व्रिफिङ पनि लिनुभएको थियो । प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद, हृदयविदारक र अकल्पनीय भएको बताउनुभएको छ  । 
उहाँले विमान दुर्घटनामा परी निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । घाइते क्याप्टेनको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।


प्रधानमन्त्री ओलीले यसबारे गर्नुपर्ने थप कामका लागि सरकारले  आवश्यक निर्णय लिने बताउँदै आगामी दिनमा यस्तो घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिनुभएको छ । त्यस क्रममा उहाँले घटना  कसरी भयो ? मानवीय वा प्राविधिक कमजोरी के भयो ? भन्ने बुझ्न आग्रह गर्नुभयो  । 
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत पनि विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले दुर्घटनामा परी ज्यान गुमाएकाहरूको शोकमा भोलि झण्डा आधा झुकाउने निर्णय सरकारले गरेको जानकारी गराउनुभएको छ । 
मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले विमान दुर्घटना छानविन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।


आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, इन्जिनियरिङ क्याम्पस पुल्चोकका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहनुभएको छ । मन्त्री गुरुङका अनुसार आयोगको सदस्यसचिवमा नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल तोकिएको छ । आयोगलाई ४५ दिन म्याद दिइएको छ । 
आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायु सेवा चलाइरहेका सबै वायुसेवाले नियमित हवाई परीक्षण गराउनुपर्ने र त्यसको नेपाल नागरिक उड्डयान प्राधिकरणले त्यसको सघन अनुगमन गर्ने निर्णय समेत भएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले जानकारी दिनुभयो ।
यसैबीच नेकपा (एमाले)ले सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । 
पार्टीका तर्फबाट स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति प्रकाशित गर्नुभई अकल्पनीय एवं भयावह दुर्घटनामा परी जीवन गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । दुर्घटनाको निष्पक्ष छानबिन गर्न, दोषीउपर कारबाही, घाइतेको उपचार, मृतकको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि एमालेले सरकारसँग माग गरेको छ ।