-केन्द्रीय सचिवालयको आकस्मिक बैठकः रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गम्भीर दुःख र चिन्ता व्यक्त
-उद्धार कार्यमा तदारुकता देखाउन र विलम्ब नगरी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पुर्याउन सरकारलाई आह्वान
-सम्पूर्ण नेता, कार्यकर्ता, जनप्रतिनिधिहरुलाई प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार र राहत कार्यमा सक्रिय रुपमा जुट्न, स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न तथा मानवीय सहायताका कार्यमा अग्रपङ्क्तिमा रहेर खटिन विशेष निर्देशन
१० भदौ (२०८३), काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रसुवाको भोटेकोशी नदीमा आज आएको भीषण बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गम्भीर दुःख र चिन्ता व्यक्त गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सम्पन्न केन्द्रीय सचिवालयको आकस्मिक बैठकले उद्धार कार्यमा तदारुकता देखाउन र विलम्ब नगरी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पुर्याउन सरकारलाई आह्वान गरेको छ ।
‘विपतमा परेका नागरिकको जीवनरक्षा राज्यको पहिलो दायित्व हो’, बैठकपछि अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ– अतः नागरिकको ज्यान बचाउन, बेपत्ता व्यक्तिहरुको खोजी र उद्धार गर्न, खतरामा परेका मानिसहरुलाई स्थानान्तरण र पुनर्स्थापना गर्न र घाइतेहरुको तुरुन्तै उपचार गरी थप हताहत हुन नदिन, मानवीय र भौतिक क्षतिको विवरण सङ्कलन गर्न विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधन–स्रोत र विकल्पहरु अविलम्ब परिचालन गर्न र तत्कालीन र दीर्घकालीन राहतको प्याकेज घोषणा गर्न नेकपा (एमाले) सरकारसँग जोडदार माग गर्दछ ।
वक्तव्यमा भनिएको छ– रसुवाको भोटेकोशी नदीमा आज २०८३ भदौ १० गते बुधबार बिहान मित्रराष्ट्र चीनको सिजाङ (तिब्बत) तर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरुका रसुवागढी, टिमुरे, स्याफ्रुवेशी, मैलुङ, बेत्रावती, त्रिशुलीलगायतका बस्तीहरुमा पुगेको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति सचिवालय बैठकले गम्भीर दुःख र चिन्ता व्यक्त गरेको छ ।
हालसम्म क्षतिको पूर्ण विवरण प्राप्त भइनसके तापनि प्रभावित क्षेत्रका ठूलो सङ्ख्यामा महिला, बालबालिका, विद्यार्थी, पर्यटकसहित नागरिकहरु, सुरक्षाकर्मी तथा कर्मचारीहरु सम्पर्कविहीन भएको, धेरैजना घाइते भएको र रसुवाको टिमुरे बजारसहितका बस्तीहरुमा सयौँ घर–पसल, पशुपन्छी, भन्सार कार्यालय, प्रहरी चौकी, दूरसञ्चार टावर, सडक, पुल, जलविद्युत आयोजना, विद्युत गृह तथा सबस्टेसन र कृषि क्षेत्रमा व्यापक क्षति पुगी ठूलो जनधनको विनाश भएको छ ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा पूर्वी नवलपरासीका नदी तटीय क्षेत्रहरु अझै पनि उच्च जोखिममा रहेका छन् । यस संवेदनशील घडीमा नदी आसपासका सम्पूर्ण नागरिकहरुलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन, जोखिमपूर्ण यात्रा नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पूर्णरुपमा पालना गर्न नेकपा (एमाले) हार्दिक आह्वान गर्दछ ।
यस कठीन परिस्थितिमा संघ, प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघ–संस्था तथा आमनागरिक सबैको एकीकृत सहयोग, समन्वय, सहकार्य र ऐक्यबद्धता अपरिहार्य छ । बाढीमा फसेकाहरुको तत्काल उद्धार, घाइतेहरुको निःशुल्क तथा प्रभावकारी उपचार र प्रभावितहरुलाई द्रूत गतिमा राहत सामग्री उपलब्ध गराउन सबै पक्ष एकजुट हुन नेकपा (एमाले) हार्दिक अपिल गर्दछ ।
अध्यक्ष ओलीले प्रेस वक्तव्यमार्फत नेकपा (एमाले)का सम्पूर्ण नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिहरुलाई प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार र राहत कार्यमा सक्रिय रुपमा जुट्न, स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न तथा मानवीय सहायताका कार्यमा अग्रपङ्क्तिमा रहेर खटिन विशेष निर्देशन गर्नुभएको छ ।
