१४ भदौ(२०८१), पोखरा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हिंसालाई शान्तिमा बदल्न पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले उक्त कुरा बताउनुभएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अराजनीतिक र असंसदीय हिसाबले संसदमा प्रस्तुत भएको उहाँले बताउनुभयो ।
नेकपा (एमाले)का नेताकार्यकर्ता अराजनीतिक हुन नसक्ने भन्दै एमालेले अन्य शक्तिहरूलाई पनि सुधारको बाटोमा अगाडि बढाउन भूमिका खेल्ने महासचिव पोखरेलले स्पष्ट गर्नुभयो ।
जनयुद्धका नाममा एमालेसहितका अन्य दलका कार्यकर्ता समेत मारिएको स्मरण गर्दै उहाँले हिंसालाई शान्तिमा बदल्न एमालेले नै सबैभन्दा बढी भूमिका खेलेको बताउनुभयो ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा पार्टीका उपमहासचिव पृथ्बी सुब्बा गुरुङले पार्टी र जनतालाई जोड्ने प्रतिफलमुखी कार्यक्रम अबको आवश्यकता भएको विचार व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेश कमिटी निवर्तमान इन्चार्ज पार्टीका सचिव गोकर्ण बिष्टले अत्यन्त जटिल अवस्थामा नेकपा (एमाले)ले सरकारको नेतृत्व लिएको र यो चुनौतीलाई अवसरमा बदलेर देशमा पूर्ण आशाको सञ्चार गर्नुको विकल्प नभएको बताउनुभयो ।
गण्डकी प्रदेश कमिटी इन्चार्ज तथा पार्टीका स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेको कार्यक्षेत्र जनताको चाहना भएको हुँदा जनताका आबश्यकता र सरोकारका बिषयमा केन्द्रित हुन आग्रह गर्दै जिल्ला कमिटीलाई जनताको सुख दुःखको सारथि बन्न आग्रह गर्नुभयो ।
गण्डकी प्रदेश सभामा एमाले संसदीय दलका नेता, स्थायी कमिटी सदस्य खगराज अधिकारीले पार्टी छिट्टै प्रदेश सरकारमा जाने तयारी शुरु भएको जानकारी दिदै समृद्ध प्रदेश सुखी प्रदेशबासीको सपना पुरा गर्न लागीपर्ने बताउनुभयो ।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले प्रदेश कमिटीका गतिविधि र कार्यक्रमको जानकारी दिदै आगामी कार्ययोजनाका बारेमा चर्चा गर्नुभएको प्रदेश कमिटी सचिव धनन्जय दवाडीले जानकारी दिनुभयो ।