१५ भदौ(२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनतामा जब निराशा, कुण्ठा र सामाजिक अराजकता बढ्छ तब देशको राजनीतिमा चुनौती उत्पन्न हुने बताउनुभएको छ ।
नेपाल निर्माण उद्योग परिषद्को पाँचौं वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशनको बन्द सत्रलाई शनिबार ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाल अहिले यही चुनौतीको अवस्थामा रहेको स्पष्ट गर्नुभयो ।
देश आर्थिक सङ्कटमा परेका कारण यो चुनौती अझ थपिएको उहाँको भनाइ छ ।
मुलुकलाई आत्मनिर्भर र गतिशील बनाउन नसक्दा देशको आर्थिक अवस्था कमजोर रहेको स्पष्ट पार्नुहुँदै महासचिव पोखरेलले राज्यले हिजो जति खर्च गर्दथ्यो आज त्यति खर्च गर्न नसक्ने अवस्थामा रहेको बताउनुभयो ।
विगतमा नेकपा (एमाले)को सरकारले जुन गतिका साथ काम अगाडि बढाएको थियो सोही गतिमा अघि बढाउन सकेको भए देशमा अहिले यो अवस्था नआउने उहाँको तर्क छ ।
नेकपा (एमाले) सरकारबाट हटेपछि देशको विकासको गति पछाडि परेको महासचिव पोखरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो– एमाले र त्यसको नेतृत्वका विरुद्ध जुन प्रकारको घेराबन्दी भयो, त्यो नै आजको सङ्कट र बेथितिको कारण बनेको छ ।
महासचिव पोखरेलले देशमा विकास र समृद्धिको यात्राका लागि एमालेसँग परामर्श गरेर अघि बढ्नुको सट्टा माओवादी अध्यक्ष पुष्पकमल दाहाल एकलौटी ढङ्गले अघि बढेर एमाले बाहेकको सत्ता समीकरणको खेलमा लागेको कारण अहिले एमाले कांग्रेससँग समीकरण गरेर अघि बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो– सात बुँदे सहमति गरेर अहिलेको सरकार गठन भएको कुरा तपाईंहरूलाई जानकारी छँदै छ ।
नयाँ सरकारसँग नागरिकको केही आशा र भरोसा बढेको महासचिव पोखरेलले बताउनुभयो । दिगो विकास, शान्ति र स्थिरताको सङ्कल्पसहित ठुला दलहरूको सरकार बनेको कारण देशमा आशाको सञ्चार भएको उहाँको भनाइ छ ।
आज मुलुकमा जनमत विभाजित भएको बताउँदै उहाँले यसले धेरै राजनीतिक दल र अस्थिरता निम्त्याएको महासचिव पोखरेलले बताउनुभयो ।
धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दल मुलुकको आवश्यकता भएको उहाँले स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले भन्नुभयो– लोकतन्त्रमा राजनीतिक दल बलिया भएनन् भने राज्य बलियो हुँदैन, राज्य बलियो भएन भने विकासको नेतृत्व गर्न सक्दैन ।
निर्माण व्यवसायीका पनि धेरै संस्था भन्दा बलियो संस्था आवश्यक रहेको उहाँको भनाइ छ । महासचिव पोखरेलले भन्नुभयो– सबै साथीहरूलाई यसमा जोड्नुपर्छ, यो संस्था जति विभाजित हुन्छ, राष्ट्र निर्माणको प्रक्रिया त्यति नै कमजोर हुन्छ ।
मुलुकको राजनीतिलाई अब पुँजीवादभित्र सुधार वा त्यसको विकल्पको बाटो दुई ध्रुवमा विभाजन गरी अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले सामन्तवादी शासन व्यवस्था अब सम्भव नभएको स्पष्ट पार्नुभयो ।
मुलुकमा अहिले बढिरहेको अराजकताबाट सबैभन्दा बढी शिकार निर्माण व्यवसाय क्षेत्र भएको बताउँदै उहाँले अराजक समूहका कारण निर्माण व्यवसायीको दायित्व बढ्ने र समयमा काम सम्पन्न गर्न नसक्ने स्थिति बनेको भनाइ राख्नुभयो ।