detail-img

समृद्धितर्फको यात्रामा विषयविज्ञता आवश्यकः बरिष्ठ उपाध्यक्ष पोखरेल

विपद् प्रतिकार्य तथा स्वयंसेवक बिषयक कार्यशाला
१५ भदौ(२०८१), काठमाडौं । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर  पोखरेलले विषय विज्ञतालाई समाहित गर्न नसके अबको राजनीति प्रभावकारी र परिणाममुखी हुन नसक्ने बताउनुभएको छ । 
नेकपा (एमाले) विपद् व्यवस्थापन तथा स्वयम्सेवा विभागद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित विपद् प्रतिकार्य तथा स्वयम्सेवक बिषयक कार्यशालालाई सम्वोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । 
उहाँले भन्नुभयो– सही राजनीतिक दिशामा विज्ञताको मांशपेशी नभरे समृद्धिको सुन्दर तस्बीर बन्न सक्दैन । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले हिजो अधिकार प्राप्तिको लडाईंमा अग्रपङ्क्तीमा रहेको स्मरण गर्दैै अब समृद्धि प्राप्तिका लागि प्रभावकारी कदम चालिरहेको बताउनुभयो । 
विपद् व्यवस्थापनमा एमालेले अग्रणी भूमिका निर्वाह गरिरहेको चर्चा गर्दै उहाँले जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि हरेक निकाय, संरचना, कार्यक्रम र कानुनी पक्षहरूमा समन्वय जरूरी रहेको चर्चा गर्नुभयो । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा निर्णयहरू गरेर मात्र नपुग्ने बताउँदै तिनको जिम्मेवार कार्यान्वयनको आवश्यकता पनि औल्याउनुभयो । 
विपद्का रूप र न्यूनीकरणका उपायबारे आम नागरिकलाई सुसूचित गराउन र पूर्व तयारी तथा ब्यवस्थापनका लागि भौतिक तयारीमा जुट्न उहाँले जोड दिनुभयो । 
कार्यशालामा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हरेक प्रकारका विपद्हरूमा एमाले पीडित र प्रभावितहरूको साथी हुने गरेको चर्चा गर्नुभयो । उहाँले पूर्व तयारी, उद्धार र राहतका लागि स्थायी प्रकृतिको स्वयम्सेवी समूह आवश्यक रहेको बताउनुभयो । 
सो अवसरमा एमाले विपद् व्यवस्थापन तथा स्वयम्सेवा विभागका प्रमुख खिमलाल भट्राईले विभागले योजनावद्ध र व्यवस्थित तरिकाले तीब्र गतिमा आफ्ना काम अघि बढाएको जानकारी गराउनुभयो । उहाँले बिषय विज्ञहरूको साथ लिएर विपद् व्यवस्थापनमा नीतिगत र परिणामुखी कामहरू गरिने बताउनुभयो । 
सो अवसरमा विपद् सम्वन्धी विभिन्न बिषय विज्ञहरूद्धारा पाँच वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । जसमध्ये विपद व्यवस्थापनमा सशस्त्र प्रहरी बिषयमा सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बंशिराज दाहाल, विपद्, पूर्वाधार र पूर्व सूचना प्रणाली बिषयमा विपद् अध्ययन केन्द्रका निर्देशक डा.वसन्तराज अधिकारी, विपद् पूर्व तयारी एवम् राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बिषयमा प्राधिकरणका निर्देशक अनिल पोखरेल, नेपालको भूकम्पीय जोखिम तथा न्यूनीकरण र व्यवस्थापनका लागि गर्नुपर्ने कार्यहरू बिषयमा भूकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठ र विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको कार्य विभाजन बिषयमा विज्ञ दिनानाथ भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।