१६ भदौ(२०८१), काठमाडौं । नेकपा माओवादी केन्द्रका कार्यकर्ता नेकपा (एमाले)मा समाहित हुने क्रम निरन्तर चलिरहेको छ ।
यस क्रममा शनिबार काठमाडौं र सिन्धुलीमा माओवादी केन्द्रका नौजना कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
महासचिव शंकर पोखरेलले पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनका केन्द्रीय सचिव कृष्णदेव यादवलाई खादा लगाई स्वागत गर्नुभयो । इन्जिनियर यादव निर्माण व्यवसायी संघ रौतहटको जिल्ला अध्यक्ष पनि हुनुहुन्छ ।
यसैगरी, शनिबारै सिन्धुलीमा माओवादी केन्द्रका आठ जना कार्यकता सो पार्टी परित्याग गरी नेकपा (एमाले)मा समाहित भएका छन् ।
नेकपा (एमाले) मरिण गाउँपालिका कमिटीको बैठकका अवसरमा माओवादी केन्द्रका कार्यकर्तालाई पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुलीका इन्चार्ज मनोजजङ्ग थापाले अबिर र खादा लगाएर स्वागत गर्नुभयो ।
यसरी एमालेमा समाहित हुनेहरूमा बाबुराम गोले, जयराम गोले, श्यामबहादुर गोले, राजकुमार गोले, बृषलाल गोले, धनबहादुर गोले, श्रीलाल गोले र ज्ञानबहादुर गोले हुनुहुन्छ ।
उहाँहरुलाई एमालेमा स्वागत गर्दै पार्टीका केन्द्रीय सदस्य थापाले नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा नेकपा एमाले रहेको हुँदा विभिन्न खेमामा रहेका कम्युनिष्ट पार्टीका सदस्यहरूलाई मूल प्रवाहमा समाहित हुन आग्रह गर्नुभयो ।