२६ भदौ (२०८१), काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पार्टीलाई जनस्तरमा बलियो बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) सिन्धुली जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै बाग्मती प्रदेश इन्चार्ज भट्टराईले पार्टीका नेताकार्यकर्तालाई नराम्रो गर्ने छुट नभएको बताउनुभयो ।
उहाँले बाहिर उठेका पार्टी विरुद्धका भ्रम तथा अफवाहहरूबारे बहस गर्न तयार रहन निर्देशन दिनुभयो । सरकारमा रहँदा केही नगर्ने र बाहिर हुनासाथ गलत कुरा गर्ने काम अहिले भइरहेको बताउँदै त्यसका विरुद्ध उभिन निर्देशन दिनुभयो । नेता भट्टराईले भन्नुभयो– पार्टीमा मोजमस्ती र रमाइलो गर्नेहरू नेतृत्वमा नबस्न र बस्नेहरूले पार्टीको नीतिभित्र बसेर काम गर्न लाग्नुस्, त्यसो गर्दा नेकपा (एमाले) कमजोर बन्दैन ।
उहाँले जिल्ला अधिवेशनमा देखिएको धारलाई मेट्नेगरी लाग्न सबै नेताहरूलाई निर्देशन दिनुभयो । बैठकमा नेकपा (एमाले) केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज मनोजजङ्ग थापा, गणेश पहाडी, विशमलाल अधिकारी दनुवार, कमलजङ्ग थापा, सुवास देवकोटा, निरु दर्लामी र उमा कोइरालाको पनि उपस्थिति रहेको थियो ।
नेकपा (एमाले)ले जिल्ला कमिटी सदस्यहरूलाई कस्तो जिम्मेवारी लिन चाहनुहुन्छ भन्दै आफ्नो कुरा राख्न भनेको थियो । जिल्ला कमिटी बैठकले वार्षिक कार्ययोजना समेत बनाएको छ । वैचारिक, राजनैतिक कामका साथै पार्टी निर्माणको काम, आलोचना÷आत्मालोचना, आन्तरिक सौहार्दता र एकता कार्यक्रम, पार्टी हितकोष दण्ड र पुरस्कार जस्ता विषयहरूलाई कार्ययोजनामा राखिएको छ ।
बैठकले पार्टीलाई एकताबद्ध ढङ्गले अगाडि बढाउने निर्णय गरेको छ ।
जिल्ला अध्यक्ष महेन्द्र देव श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष कर्ण घिसिङले स्वागत गर्नु भएको थियो भने सञ्चालन सचिव नवराज थिङले गर्नुभएको थियो ।
यसैबीच स्थायी कमिटी सदस्य भट्टराईले नेकपा एकीकृत समाजवादी सिन्धुलीका उपसचिव रमेश नेपाललाई नेकपा (एमाले)मा स्वागत गर्नुभयो । नेकपा (एमाले)मा समाहित भएपछि बोल्दै नेपालले पार्टी विभाजन गरेर माधव नेपालले गम्भीर गल्ती गरेको बताउँदै एकीकृत समाजवादीका सम्पूर्ण नेता कार्यकर्तालाई एमालेमा समाहित हुन अपील गर्नुभयो ।
यस्तै, नेकपा माओवादी केन्द्र सिन्धुलीका जिल्ला कमिटी सदस्य नरबहादुर राजन र फडिन्द्र बहादुर ठकुरी पनि एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई एमाले बाग्मती प्रदेश इन्चार्ज डा. भट्टराईले पार्टीमा स्वागत गर्नु भएको छ ।