detail-img

मुलुकलाई दिशानिर्देश गर्ने एकमात्र पार्टी एमालेः डा. भट्टराई

सिन्धुपाल्चोकमा माओवादी लगायत विभिन्न पार्टीका ३१९ जना एमालेमा प्रवेश 
२८ भदौ (२०८१), काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले मुलुकलाई दिशानिर्देश गर्ने एकमात्र पार्टी एमाले भएको बताउनुभएको छ । 
सिन्धुपाल्चोकको नेकपा (एमाले) चौतारा साँगाचोकगढी नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियानको हिजो (भदौ २७ गते) शुरूवात गर्दै डा. भट्टराईले गएको निर्वाचनमा केही अलमलका कारण एमाले पहिलो पार्टी बन्न नसकेको र पार्टीविरूद्धको घेराबन्दी तोडिएकाले आगामी निर्वाचनमा स्पष्ट बहुमतसहितको निर्णायक राष्ट्रिय शक्ति बन्ने विश्वास व्यक्त गर्नुभयो । 
नेपाली कांग्रेस र नेकपा (एमाले) दुई मुख्य प्रतिस्पर्धी हुँदाहुँदै पनि देशलाई सङ्कटबाट मुक्ति दिन र समृद्धिको यात्रा अगाडि बढाउन सत्ता साझेदारी गरिएको स्थायी कमिटी सदस्य डा. भट्टराईले बताउनुभयो । 
माओवादी लगायत विभिन्न पार्टीका कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै डा. भट्टराईले माओवादीको ओरालो यात्रा शुरू भएको र अब गणनामा पनि नआउने भनाइ राख्नुभयो । 
कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य महेश बस्नेतले आगामी निर्वाचनमा माओवादी पार्टीसँग सहकार्य नहुने बताउनुभयो । 
माओवादीले ध्वंशको राजनीति गरेको चर्चा गर्दै बस्नेतले भन्नुभयो– हिंसा हिंसा नै हो, कोटिहोम होइन, मान्छे मार्नुलाई हामीले कोटीहोम मान्ने ?
एमाले र कांग्रेसको समीकरणले माओवादीमा व्यापक छटपटाहट भएको उहाँको भनाइ छ । माओवादीकै कारण देशको समृद्धिको यात्रा सुस्त बन्न पुगेको उहाँले बताउनुभयो । 
समृद्धिको यात्रा पूरा गर्न एमाले मात्र विकल्प रहेको केन्द्रीय सदस्य सरेश नेपालले बताउनुभयो । राष्ट्र निर्माणको लागि एमालेमा आवद्ध हुन अर्का केन्द्रीय सदस्य सुवास कर्माचार्यले आह्वान गर्नुभयो । 
कार्यक्रममा ३१९ जनाले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । एमालेमा प्रवेश गर्नेहरूमध्ये अधिकांश माओवादीबाट रहेका छन् भने केही राप्रपा, समाजवादी र कांग्रेसबाट रहेको नेकपा (एमाले) सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो ।