detail-img

केन्द्रीय सचिवालयको ३६औं बैठकः ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण’ गर्ने बार्षिक कार्ययोजना पारित

२८ भदौ (२०८१), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको ३६औं बैठक पार्टीलाई ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण’ गर्ने कार्ययोजना पारित गर्दै सम्पन्न भएको छ । 
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण’ गर्ने २०८१÷०८२ को बार्षिक कार्ययोजना पारित गरेको हो ।  
बार्षिक कार्ययोजनाभित्र विभिन्न १८ वटा विषयहरू समावेश गरिएको छ । पार्टी सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरणको कामलाई व्यवस्थित गर्ने, अधिवेशन हुन बाँकी जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र र सबै तहका अधिवेशनहरू मङ्सिर मसान्तभित्र सम्पन्न गरी सक्ने योजना बनाइएको छ । 
यो बर्ष पार्टी स्कुल सञ्चालनलाई अभियानका रूपमा अगाडि बढाइने भएको छ । पार्टीका सम्पूर्ण सदस्यहरूले बर्षमा एकपटक पार्टी स्कुलको प्रशिक्षण लिनुपर्ने र जिम्मेवारी दिँदा प्रशिक्षणलाई मूल्याङ्कनको विषय बनाइने भएको छ । 
सरकार र जनप्रतिनिधिको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषय पनि कार्ययोजनामा राखिएको छ । 
पार्टी प्रवेश गर्नुभएका र विभिन्न अधिवेशनबाट विदा हुनुभएका पार्टी सदस्यहरूलाई तीन महिनाभित्र पार्टी कमिटीमा यथोचित जिम्मेवारी दिने विषय पनि कार्ययोजनामा रहेको छ । 
जनतासँग पार्टीको सम्बन्धलाई जीवन्त बनाउन सकियोस् भनी पार्टीका सबै तहका कमिटीका कार्यालयहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयलाई कार्ययोजनामा जोड दिइएको छ । 
त्यसैगरी प्रचार कार्यका सन्दर्भमा पनि पार्टीले परम्परागत प्रचारसँगसँगै सोसल मिडियाको प्रयोगलाई सबै तहका कमिटीहरूले प्रभावकारी रूपमा सदुपयोग गर्ने विषयलाई जोड दिइने भएको छ । 
यसबर्षदेखि हरेक कमिटीले आफ्नो बार्षिक बजेट तयार गर्नुपर्ने र बजेट अनुसार आम्दानी र खर्चको व्यवस्थापन गर्नुपर्ने विषयलाई कार्ययोजनामा राखिएको छ । 
पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरणको विषयलाई पार्टीको बार्षिक कार्ययोजनाको महत्वपूर्ण विषय बनाइएको छ । 
पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा निर्माण गरी २०८४ को निर्वाचनमा एकल बहुमतको सरकार निर्माण गर्ने गरी सफलता प्राप्त गर्न यसबर्ष युवाबीचको काममा जोड दिइने भएको छ । यसका लागि विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी ४० बर्षमुनिका युवालाई समेट्ने गरी ‘युवा– समिट’ आयोजना गरिने महासचिव शंकर पोखरेलले बताउनुभयो । 
प्रवासको कामलाई पनि अझ व्यवस्थित गरिने भएको छ । 
त्यसैगरी, पार्टीको हिरक वर्षका लागि तय भएका र बाँकी रहेका कामहरू यस बर्ष सम्पन्न गरिने छ । 
बैठकले भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीको असामयिक निधन भएकामा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । बैठकले यचुरीको अन्तिम संस्कारमा सहभागी हुन पार्टीका तर्फबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल जाने निर्णय गरेको छ ।