detail-img

माओवादी आन्दोलन मात्र हो, पार्टी बनेकै छैनः महासचिव शंकर पोखरेल 

३१ भदौ (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी केन्द्र अझै राजनीतिक पार्टी बनी नसकेको बताउनुभएको छ । 
प्रेस सेन्टर नेपालका नेता कार्यकर्ताहरू प्रेस चौतारी नेपालमा प्रवेश गर्न आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले माओवादी एउटा आन्दोलन मात्र भएको बताउनुभयो । 
उहाँले भन्नुभयो– माओवादी आन्दोलन मात्र हो, पार्टी नै होइन, पार्टी बनेकै छैन’, उहाँले भन्नुभयो । महासचिव पोखरेलले नेकपा (एमाले) नेपालको सन्दर्भमा मात्र नभएर एसियाकै सन्दर्भमा सुदृढ पार्टी भएको उहाँले बताउनुभयो । 
परिणामका हिसाबले कहिले सफलता कहिले असफलता एउटा पक्ष भए पनि पार्टीका हिसाबले एमालेको जत्तिको सामथ्र्य राख्ने पार्टी बिरलै भएको भन्नुहुँदै महासचिव पोखरेलले त्यसैले एमालेलाई कमजोर पार्ने प्रयत्न बारम्बार हुने गरेको  सुनाउनुभयो । 
विगतमा एमाले र माओवादी पार्टी एकीकरण गरेर उत्साहका साथ नेकपा बनाइएको भए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकता सफल बनाउने दिशामा अगाडि नबढेका कारण नेकपा फुटेको स्मरण गर्दै महासचिव पोखरेलले प्रचण्ड प्रयोगका लागि मात्र आएको कारण त्यस्तो स्थिति बनेको निष्कर्ष सुनाउनुभयो । प्रचण्डको सहकार्य गर्ने अनिच्छाका कारणले नेकपा फुटेको बताउँदै उहाँले भन्नुभयो– प्रचण्ड सहकार्य गर्ने मान्छे होइन, आदेश दिने मान्छे हो, आदेशले मात्र राजनीति चल्दैन, विधि, पद्धति, योजना र सामूहिकताको आवश्यकता पर्दछ । 
महासचिव पोखरेलले भन्नुभयो– शक्ति केन्द्रले साथ दिएका कारण प्रचण्ड आफ्नो राजनीतिमा सफल देखिए, उनीहरूको साथ नभएको भए अवस्था हेर्न लायकको हुन्थ्यो । 
उहाँले अबको राजनीति प्रचण्डको पक्षमा नरहेको बताउँदै अब माओवादी भई रहनुको औचित्य छैन भन्नुभयो । 
अब वामपन्थी जनमतलाई एमाले वरिपरि र बुर्जुवा जनमत कांग्रेसको वरिपरि केन्द्रीकृत हुने बताउँदै महासचिव पोखरेलले नेपालको राजनीति अब दुई ध्रुवमा ध्रुबीकृत हुने विश्वास व्यक्त गर्नुभयो ।  
साना राजनीतिक पार्टीका कारण देशमा अस्थिरता बढेकाले देशका ठुला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सरकार बनाएका र यसबाट सबैभन्दा बढी छटपटी माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डलाई भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा महासचिव पोखरेल, पार्टीका स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ लगायत नेताहरूले प्रेस चौतारी नेपालमा समाहित भएका पत्रकारहरूलाई खादा लगाई स्वागत गर्नुभयो । प्रेस चौतारी नेपालमा समाहित हुनुहुनेहरूमा प्रेस सेन्टरकी केन्द्रीय सदस्य सुनिता कुमारी, जिल्ला अध्यक्ष धनवीर महतोका साथै जिल्लामा रहेका प्रेस सेन्टरमा आबद्ध पत्रकारहरू रहेका छन् ।