detail-img

लोकतन्त्रमा जनता र राज्यबीचको सम्बन्ध घनिष्ठ हुनुपर्छः महासचिव पोखरेल

१ असोज (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनता र राज्य बीचको सम्बन्ध घनिष्ठ हुनुपर्ने बताउनुभएको छ । 
नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिन मङ्गलबार आयोजना गरिएको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जनता र राज्य बीचको सम्बन्ध बिग्रियो भने राज्य कमजोर हुने बताउनुभयो । 
कमजोर राज्यले जनताको संरक्षण र विकास तथा समृद्धिको नेतृत्व गर्न नसक्ने उहाँको भनाइ छ । ‘जबसम्म राज्य बलियो हुँदैन तबसम्म मुलुकको विकास हुन सक्दैन, लोकतन्त्रमा राज्य र जनता बीचको सम्बन्ध घनिष्ठ हुनुपर्दछ’, उहाँले भन्नुभयो । 
मुलुकमा जति समृद्धि, व्यापार, व्यवसाय र उद्यमशीलता बढ्छ त्यति नै सञ्चारमाध्यम पनि फस्टाउने महासचिव पोखरेलको भनाइ छ । जति बेला जनता र राज्य जोडिन्छन्, त्यतिबेला विकास, उद्यमशीलता र व्यवसाय बढ्ने उहाँले बताउनुभयो । जनता र राज्यका विरुद्ध खाडल खडा गरेर राज्य बलियो नबन्ने कुरामा सञ्चारमाध्यमले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 
समयको मागलाई बुझेर भविष्यको यात्रा तय गर्नुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले सञ्चारमाध्यमहरू पपुलिजमको सिकार हुनबाट जोखिनुपर्ने धारणा राख्नुभयो । राज्यको समस्या समाधान गर्न पुलिजम सधै बाधक हुने उहाँले स्पष्ट पार्नुभयो । 
जनतालाई अधिकार सम्पन्न बनाउने कुरा गर्दा कर्तव्यलाई पनि सँगै जोड्नुपर्नेमा उहाँको जोड छ । अधिकारसँग कर्तव्यलाई जोड्दा मात्र मुलुकले समृद्धि प्राप्त गर्ने उहाँले बताउनुभयो । नेपाली समाज अहिले अधिकार खोज्ने तर कर्तव्य पालना नगर्ने समस्यामा परेकाले सञ्चार माध्यमले समाजलाई त्यहाँबाट बाहिर निकाल्नुपर्ने महासचिव पोखरेलको भनाइ छ । 
समाजलाई चाहिएको कुरामा अझै सञ्चारमाध्यम केन्द्रित हुन नसकेका र अहिले पनि सञ्चारमाध्यमका मुख्य विषयवस्तु राजनीति नै बन्दै आएका उहाँले सुनाउनुभयो । 
हिजो राज्यविरुद्ध जनतालाई विद्रोही बनाउन आमसञ्चार माध्यमको प्रयोग गरिएको स्मरण गर्दै राज्य निरङ्कुश भएको बेला सञ्चारमाध्यमले त्यस रूपमा काम गरेका भए पनि आज व्यवस्था परिवर्तनसँगै सञ्चारमाध्यमको भूमिका पनि फेरिनुपर्ने महासचिव पोखरेलको धारणा छ । 
युवा पलायन आजको प्रमुख समस्या भएको बताउँदै उहाँले सञ्चार माध्यमले त्यसको कारण के हो भन्ने कुराको विश्लेषण गर्न आवश्यक रहेको बताउनुभयो । पढेलेखेका युवा कृषिमा जानै नचाहेपछि समाजमा कामको समस्या पैदा भएको महासचिव पोखरेलको भनाइ छ । यो तथ्यलाई उजागर गरेर कृषिलाई व्यावसायीकरण र बजारीकरणको विषय प्रवद्र्धन गर्न सञ्चारमाध्यमले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सञ्चारमाध्यमले व्यवसायी र किसानलाई उत्प्रेरित गर्नुपर्ने उहाँको सुझाव छ ।