एमाले आज

दुई कार्यभार र १५ काम कार्यान्वयनबाट एमाले फेरि मुलुकको बलियो पार्टीमा स्थापित हुनेछः महासचिव पोखरेल

सेयर गर्नुहोस्

१० असोज (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकद्वारा पारित पार्टीका दुई कार्यभार र ती कार्यभार सफल बनाउन निर्धारित १५ काम कार्यान्वयनबाट नेकपा (एमाले) फेरि मुलुकको बलियो पार्टीका रुपमा स्थापित हुने बताउनुभएको छ । 
प्रवासी नेपाली मञ्च, ओसिनिया महादेश कमिटीको प्रथम अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको घोषणा सभालाई पार्टी केन्द्रीय कार्यालय, च्यासलबाट भर्चुअल सम्बोधन गर्दै महासचिव पोखरेलले दुई कार्यभार अन्तर्गतका १५ कामले पार्टीसँग जनताको टुटेको सम्बन्धलाई जोड्ने विश्वास व्यक्त गर्नुभयो ।  
गतबर्ष फागुन २१ गते भएको निर्वाचन परिणामको समीक्षा गर्ने क्रममा एमालेसँग जनता किन टाढा भए ? भन्ने बिषयमा मसिनो गरी अध्ययन र विश्लेषण गर्ने काम भएको जानकारी गराउँदै उहाँले पार्टीभित्र कमी कमजोरी सुधार्ने सामथ्र्यको विकास गरिएकाले आन्तरिक कमजोरी सच्याएर फेरि बलियो पार्टीका रुपमा स्थापित गर्न सकिने बताउनुभयो । 
दुई कार्यभार सफल बनाउन १५ कामसँगै ४० बुँदे सङ्कल्पसमेतको कार्ययोजना बनाइने जानकारी गराउँदै महासचिव पोखरेलले नेकपा (एमाले) सबै दृष्टिकोणले राष्ट्र र जनताको पक्षमा क्रियाशील पार्टी रहे पनि पार्टीका विरुद्ध गलत भाष्य बनाई भ्रमपूर्ण र निराधार लाञ्छना लगाउने र बदनाम गर्ने काम भइरहेकाले त्यसलाई चिर्न सक्नुपर्ने बताउनुभयो । 
उहाँले नेकपा (एमाले)ले नेपाली विशेषताको समाजवाद निर्माण गर्ने उद्देश्य राखेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्य अगाडि सारेकाले यस महान अभियानमा प्रवासमा रहेका युवा पुस्तालाई जोड्नु आवश्यक रहेकाले ओसिनिया देशमा रहेका नेपाली युवालाई जोड्ने काममा यस कमिटीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 
देशको वर्तमान राजनीतिक परिस्थितिका बारेमा चर्चा गर्दै महासचिव पोखरेलले सरकार अधिनायकवादी र स्वेच्छाचारी ढङ्गले अगाडि बढिरहेको, राष्ट्रियता, सार्वभौमसत्ता रक्षामा सरकार विचलित भएको, नेपालको संवेदनशील भू–राजनीतिलाई ठीक ढङ्गले आत्मसात गर्न नसकिरहेको, घटनाक्रमबाट आगामी दिनमा मुलुक भू–राजनीतिक चक्रव्यूहमा फस्न सक्ने आशङ्का धेरैले गर्न थालेको बताउनुभयो । 
जनताको लामो र बलिदानीपूर्ण सङ्घर्षबाट स्थापित लोकतन्त्र जनताले निर्माण गरेको वर्तमान संविधानको जगमा सुदृढ हुने अपेक्षा गरिएकोमा सरकारको स्वेच्छाचारी कदमबाट संविधानको प्रस्तावना नै कमजोर पार्ने देखिएकाले संविधानको रक्षाका लागि नेकपा (एमाले) ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको जानकारी गराउँदै उहाँले संविधान रक्षाका लागि संविधान पक्षधरहरु एकठाउँमा उभिनुपर्छ भन्ने मान्यता पार्टीको रहेको बताउनुभयो । 
यतिबेला देशले प्राकृतिक विपत्तिको सामना गरिरहेको र भोटेकोशीले सिर्जना गरेको विपद जलवायु परिवर्तनको असर भएकाले जलवायु न्यायको मुद्दा सबै नेपालीको साझा विषय र राष्ट्रिय मुद्दा भएको बताउँदै महासचिव पोखरेलले नेपालले क्षतिपूर्ति पाउनुपर्ने विषयलाई संयुक्त राष्ट्र संघका साथै अन्तर्राष्ट्रिय जगतमा उठाउनु सबै नेपाली समुदायको कर्तव्य हुनेतर्फ ओसिनिया महादेश कमिटीलाई ध्यानाकर्षण पनि गराउनुभयो । 
नवनिर्वाचित प्रवासी नेपाली मञ्च, ओसिनिया महादेश कमिटीलाई बधाई दिँदै उहाँले कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । 
कमिटीका निवर्तमान अध्यक्ष राजु उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकाल, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डे, सचिव चानक पोखरेल लगायत अतिथिहरुले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो । 
प्रवासी नेपाली मञ्च, ओसिनिया महादेश कमिटीको प्रथम अधिवेशनले सन्तोष दाहालको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गरेको छ ।   

हामीसँग जोडिनुहोस्