६ असोज (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देश परिवर्तनको नेतृत्व कम्युनिष्टहरूले मात्र गर्न सक्ने बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा दाङमा आयोजित वृहत् युवा भेलालाई शनिबार (असोज ५ गते) सम्बोधन गर्दै महासचिव पोखरेलले कम्युनिष्ट आन्दोलनलाई युवाले नै अघि बढाएको बताउनुभयो ।
कम्युनिष्ट पार्टीको जग नै युवाहरूले बसाएको विगत स्मरण गर्दै महासचिव पोखरेलले युवाहरू अल्लारे छन्, आलाकाँचा छन् भन्ने भ्रमलाई चिर्ने जिम्मेवारी युवाकै काँधमा भएको पनि प्रष्ट पार्नुभयो ।
राजनीतिमा कुन बाटो हिँड्ने भन्ने कुरा प्रमुख भएको बताउँदै उहाँले मौरीसँग हिँडे महमा पुगिने र झिँगासँग हिँडे रछ्यानमा पुगिने भनाइ राख्नुभयो ।
महासचिव पोखरेलले कांग्रेस यथास्थितिवादी र माओवादी ध्वंसवादी शक्ति र एमाले विकास र समृद्धिको बाटोबाट समाजवादतर्फ उन्मुख पार्टी भएको बताउँदै कुन पार्टी रोज्ने भन्ने कुरा युवाले पहिचान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– राजनीतिमा कुन सिद्धान्त सही हो भन्ने कुरा छुट्याउन सक्नुपर्दछ ।
अहिले पुराना पार्टी काम लाग्दैनन्, नयाँ पार्टी रोज्नुपर्दछ भन्ने प्रचार सुरु भएको र यसैको परिणाम रवि लामिछाने र बालेन साहहरू जन्मिएको भए पनि निश्चित नीति, सिद्धान्त र दृष्टिकोणले मात्र राजनीति चल्ने उहाँको भनाइ छ । म चर्चित भएँ भनेर कोही राजनीतिमा आउँदैमा त्यो लामो समय टिक्न नसक्ने महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।
लोकप्रियताको पछि दौडँदा देश नै सङ्कटमा पर्ने बताउँदै उहाँले भन्नुभयो– राजनीति भनेको तरबारको धारमा हिँड्नु जस्तै हो, चारैतिरको निगरानीमा हुन्छ ।
महासचिव पोखरेलले रवि लामिछाने एकभन्दा बढी विवाह गर्ने, एकभन्दा बढी पासपोर्ट बनाउने, पछिल्लो समय त सहकारी नै डुबाउने कार्यमा संलग्न रहेको पुष्टि भएको चर्चा गर्दै लामिछाने नेपाली समाजले खोजे जस्तो पात्र नभएको बताउनुभयो ।
उहाँले काठमाडौंका मेयर पनि त्यस्तै चर्चाका पात्र रहेका र जनतालाई प्रभावमा पार्ने क्षमता काठमाडौंका मेयरमा राम्रै भए पनि जनताको काम गर्ने क्षमतामा उनी असफल भएको प्रमाणहरू प्रस्तुत गर्नुभयो । ‘कामका मामलामा उनी योग्य देखिएनन्, आफूले बनाएको बजेट सबैभन्दा कम खर्च गर्ने मेयरका रूपमा उनी स्थापित भए’, महासचिव पोखरेलले भन्नुभयो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलाका कामका भिडियो हालेर बालेनले चर्चामा आउने प्रयत्न गरिरहेको उहाँले बताउनुभयो । सरकारसँग ‘टसल’ गरेर चर्चामा आउने प्रयत्न गरिरहेका बालेन जनताको लागि काम गर्न योग्य जनप्रतिनिधि होइनन् भन्ने कुरा पुष्टि भइसकेको उहाँले प्रष्ट पार्नुभयो ।
विदेश जाने युवालाई लक्षित गर्दै महासचिव पोखरेलले नेपाली युवाले विदेशमा गरेको सरह काम नेपालमा गर्ने हो भने त्यो भन्दा बढी रकम देशमा नै कमाउने र विदेश जानु नपर्ने उहाँको धारणा छ ।