detail-img

‘सङ्घीयता, गणतन्त्र र समावेशितालाई कमजोर बनाउने गरी संविधान संशोधन हुँदैन’

८ असोज (२०८१), सिन्धुली । नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष (बरिष्ठ उपाध्यक्ष) ईश्वर पोखरेलले सङ्घीयता, गणतन्त्र, समावेशितालाई कमजोर बनाउने गरी संविधान संशोधन नहुने बताउनुभएको छ । 
प्रेस चौतारी नेपाल सिन्धुलीद्वारा आयोजित पत्रकार भेटघाटमा उहाँले संविधान संशोधन गर्न प्रमुख राजनीतिक शक्तिहरू एक हुनुपर्ने र नेपालका सबै राजनीतिक दलहरूसँग सहमति कायम गरेर मात्रै संविधान संशोधन गरिने प्रष्ट पार्नुभयो ।
संविधान संशोधन विशेष गरी शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्यायपालिकाका विषय, संवैधानिक अङ्गसँग सम्बन्धित विषय, स्थानीय निकाय सञ्चालन, प्रदेश संरचना लगायतका विषयमा संशोधनको आवश्यकता देखिएको कार्यवाहक अध्यक्ष पोखरेलले बताउनुभयो । 
नेकपा (एमाले) र नेपाली काँग्रेस बीच सत्ता सहकार्यपछि बनेको सरकारले जनताको भावना अनुसार काम अगाडि बढाएको भनाइ राख्दै उहाँले देशको आवश्यकताले नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्नुपरेको स्पष्ट गर्नुभयो । 
देशको भाग्य र भविष्य बनाउन राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुहुँदै कार्यवाहक अध्यक्ष पोखरेलले देशमा देखिएको सङ्कटलाई थप बढ्न दिनु नहुने भनाइ राख्नुभयो । एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा परिणत गर्न देशव्यापी रूपमा पार्टी सुदृढ गर्ने, पार्टीपङ्तीलाई अगाडि बढाउने र भएका कमी कमजोरीहरूलाई सुधार गर्ने अभियान नेकपा (एमाले)ले निरन्तर चलाएको उहाँको भनाइ छ । 
कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा सिन्धुली इन्चार्ज मनोजजङ्ग थापा, केन्द्रीय सदस्यहरू कमलजङ्ग राई, सुवास देवकोटा, उमा कोइरालालगायत नेताहरूको उपस्थिति रहेको थियो । 
यसैबीच नेकपा (एमाले) जिल्ला कमिटी, सिन्धुलीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीको दृष्टिकोण, आगामी रणनीति र पार्टी नेताहरूले खेल्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिनुभएको थियो ।