१० असोज (२०८१), अर्घाखाँची । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य पदम क्षेत्री लगायत माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसका १७३ जना प्रदेश तथा जिल्लास्तरीय नेताकार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
नेकपा (एमाले)ले बुधबार पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेको छ ।
नेकपा (एमाले)मा प्रवेश गनेहरूमा माओवादी केन्द्रका प्रदेश सदस्य तथा भुमिकास्थान नगरपालिकाका अध्यक्ष नरेन्द्रमान मुखिया, लुम्बिनी प्रदेश सदस्य देवबहादुर खड्का, राष्ट्रिय जनमोर्चा युवक संघका पूर्व केन्द्रीय उपाध्यक्ष, जिल्ला सचिवालय सदस्य कविराम खनाल, देउराली यातायात समितिका अध्यक्ष गोविन्द बजान्डेसहित १७३ जना हुनुहुन्छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य आचार्यले गृह जिल्ला अर्घाखाँचीलाई एमालेको बलियो राजनीतिक शक्ति बनाउने लक्ष्य र योजना रहेको बताउँदैे त्यस लक्ष्यमा सफलता हासिल गर्नका लागि यो पार्टी प्रवेश महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपालमा कम्युनिस्टको केन्द्र एमाले भएको र देशलाई अगाडि बढाउने स्पष्ट नीति, विचार र कार्यक्रम पनि एमालेसँग मात्रै रहेको उल्लेख गर्दै अन्य कम्युनिष्ट पार्टीमा अलमलमा रहनुभएका तथा देश बनाउने चाहना राख्ने सबै देशभक्तहरूलाई एमालेमा समाहित हुन आह्वान गर्नुभयो ।
केन्द्रीय सदस्य आचार्यले गत निर्वाचनमा एमालेले अर्घाखाँची जिल्लामा संघ र प्रदेशमा सत प्रतिशत जित निकालेको स्मरण गर्दै आगामी निर्वाचनमा पनि सत प्रतिशत जित निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बोमबहादुर विक, जिल्ला कमिटीका अध्यक्ष पिताम्वर भुसाल, उपाध्यक्ष शम्भु पोख्रेल, सचिव तोजबहादुर रायमाझीले मन्तव्य राख्दै पार्टीमा समाहित हुने सबैलाई उचित जिम्मेवारी प्रदान गरिने प्रतिवद्वता जाहेर गर्नुभयो ।