detail-img

‘भ्रममा नपरे हुन्छ, संविधानका आधारभूत विषयमा संशोधन हुँदैन’

रामेछापको तेस्रो पूर्ण बैठक बार्षिक कार्ययोजना पारित गर्दै सम्पन्न
१० असोज (२०८१), रामेछाप । नेकपा (एमाले) रामेछापको तेस्रो पूर्ण बैठक बिहीबार मन्थलीमा सम्पन्न भएको छ । 
नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश कमिटी इञ्चार्ज डा. राजन भट्टराईको आतिथ्यता तथा जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा भएको थियो । 
बैठकले पार्टीको वार्षिक कार्ययोजना तथा बजेट पारित गरेको छ । यसैगरी पार्टीका जिल्ला कमिटीका नेताहरूको कार्यविभाजन पनि बैठकले गरेको छ । 
बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै स्थायी कमिटी सदस्य डा. भट्टराईले देश गम्भीर सङ्कटको अवस्थामा पुगेको कारण एमालेले सरकारको नेतृत्व गर्ने गरी हस्तक्षेप गरेको बताउनुभयो । 
उहाँले कांग्रेसँग सहकार्य गरेर बनाएको वर्तमान सरकारका केही सीमा र अवसर रहेको बताउनुभयो । 
डा. भट्टराईले भन्नुभयो– लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र हो भन्ने सन्देश लिएर हामी सरकारमा गएका छौं । 
नयाँ सरकार बनेपछि व्यावसायिक क्षेत्रमा केही उत्साह बढेको हुँदा यिनै सकारात्मक सङ्केतद्वारा बढ्दो निराशालाई चिरेर अघि बढ्नुपर्ने भनाइ उहाँले राख्नुभयो ।  
संविधान निर्माण र संशोधन राजनीतिक शक्ति सन्तुलनको आधारमा बन्ने स्पष्ट गर्दै डा. भट्टराईले शक्ति सन्तुलनमा परिवर्तन हुँदै जाँदा संविधानको संशोधन हुने बताउनुभयो । संविधानका आधारभूत विषयलाई असर नपर्ने गरी संविधान संशोधन हुने उहाँले स्पष्ट पार्नुभयो । ‘हामी संविधानका आधारभूत पक्षलाई संशोधन गर्नेवाला छैनौं, कुनै भ्रममा नपरे हुन्छ’, डा. भट्टराईले भन्नुभयो । 
अहिले प्रचार गरिएजस्तो समावेशी चरित्रमा असर गर्ने गरी संविधान संशोधन नहुने उहाँले स्पष्ट पार्नुभयो । ‘समावेशी चरित्र हाम्रो मुलुकको आवश्यकता हो, मौलिक अधिकार हामीले लडेर ल्याएको कुरा हो, हाम्रा विरुद्ध फैलाइएका अफवाहलाई चिर्ने दायित्व हाम्रो हो’, उहाँले भन्नुभयो । 
सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई संसदीय समितिले कारबाहीको लागि सिफारिस गरिसकेकाले उहाँमाथि कारबाही हुने उहाँले स्पष्ट पार्नुभयो । ‘कानुन अनुसार उहाँलाई कारबाही हुन्छ, त्यो प्रक्रिया अघि बढेको छ’, स्थायी कमिटी सदस्य डा.भट्टराईले भन्नुभयो । 
विश्व राजनीतिक परिदृश्यका बारेमा चर्चा गर्दै डा. भट्टराईले नेपाल दुई उदयमान मुलुकका बीचमा रहेकाले नेपालको स्थिति निक्कै संवेदनशील रहेको र यसकै परिणाम आज नेपालमा सामाजिक अराजकता र अस्थिरता देखिन लागेको विश्लेषण सुनाउनुभयो । 
एउटा व्यक्तिको मुख्र्याइँको कारण युक्रेन युद्धमा होमिएको उहाँले बताउनुभयो । 
नेपालमा पनि त्यस्तै अराजक र गैरजिम्मेवार मानिसलाई निर्वाचित गराउन सकिन्छ कि भनेर त्यस्ता शक्तिले विभिन्न खालका पात्रहरू खडा गर्ने काम भएको डा. भट्टराईले बताउनुभयो । मुलुकको स्वतन्त्रताको लागि र मुलुकको रक्षाका लागि एमालेलाई बलियो शक्ति बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 
‘आज नेपालका हरेक क्षेत्रमा आक्रमणको प्रयास भइरहेको छ, त्यसैले एमालेको पङ्ति सचेत हुन जरूरी छ’, भट्टराईले भन्नुभयो । 
नेपालको सन्दर्भमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने जनताको बहुदलीय जनवाद सफल विचार हो भन्ने कुरा स्थापित भएको उहाँले स्पष्ट पार्नुभयो । 
सामाजिक सञ्जाल र समाचारको पछाडि दौडिएर पार्टी नबन्ने तथा विचार र नीतिमा स्पष्ट नभएकाहरूले आजको चुनौतीको सामना गर्न नसक्ने भट्टराईले बताउनुभयो ।
बैठकमा जिल्ला कमिटी अध्यक्ष कडरियाले दोस्रो बैठकपछि भएका गतिविधिबारे जानकारी गराउनुभएको थियो । एमाले रामेछापले लिएको विपतको सूचनामा पहिलो, उद्धारमा पहिलो र सहयोगमा पहिलोको नीतिलाई कार्यान्वयन गर्न पार्टी सफल भएको अध्यक्ष कडरियाले बताउनुभयो । 
त्यस्तै पार्टी सदस्यता नवीकरण, कार्यालय भवन निर्माण लगायतका काम निरन्तर अघि बढेको पनि उहाँले जानकारी दिनुभयो । 
बैठकमा नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईं, बाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्यहरू गणेश पहाडी, माधव ढुङ्गेल, गीता कार्की, बाग्मती प्रदेश कमिटी सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, सदस्यहरू आनन्द श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, रत्न गौतम, लब श्रेष्ठ, गोपाल श्रेष्ठ, प्रेम तामाङ, दीपशिखा दाहाल, गङ्गा कार्की, माया कार्की, अर्जुन कार्की, प्रदेश लेखा आयोगका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, प्रदेश सल्लाहकार उपाध्यक्ष तुलप्रसाद कँडेल लगायत प्रदेश कमिटीका नेताहरू, जिल्ला कमिटी पदाधिकारी तथा सदस्य र स्थानीय तह पार्टी कमिटी अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो । 
बैठकमा पार्टीको पालिका कमिटीका अध्यक्षहरूले पालिका कमिटीले गरेको काम र काम गर्दाका चुनौतीका बारेमा रिपोर्टिङ गर्नुभएको थियो । 
बैठकमा यस अघिका जिल्ला इञ्चार्ज गणेश पहाडीलाई विदाइका साथै नयाँ जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईंलाई स्वागत गरिएको थियो ।