detail-img

प्रधानमन्त्री ओली र विभिन्न देशका शीर्ष नेताबीच भेटवार्ता

११ असोज (२०८१), न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अमेरिकाको न्युयोर्क पुग्नुभएसँगै  महासभामा भाग लिन आउनुभएका विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुखहरू र शीर्ष नेताहरूसँगको भेटवार्तामा व्यस्त रहनुभयो । 
प्रधानमन्त्री ओलीसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका विदेशमन्त्री वाङ यी, पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफ, संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटरेज लगायतका शीर्ष नेताहरूको भेटवार्ता भएको छ । 

यस क्रममा बिहीबार चीनका विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गर्नुभयो । 
भेटका अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको स्थापना हुनुभन्दा अगाडिदेखि नेपाल–चीन सम्बन्ध कायम भएको बताउँदै प्राचीन ऋषिमुनी र बौद्धमार्गीहरूले जनस्तरमा समेत सम्बन्ध विस्तार गरेको स्मरण गर्नुभयो ।     
नेपालको समृद्धि र विकासका लागि चिनियाँ सहयोग महत्वपूर्ण हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा थप सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । 
चीनका विदेशमन्त्री वाङले नेपाल–चीनको पुरानो छिमेकी भएकाले आपसी सहकार्यलाई बढाउँदै नेपालको समृद्धिको यात्रामा सक्दो सघाउन चीन तयार रहेको बताउनुभयो । विदेशमन्त्री वाङ चीनको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिँदै हुनुहुन्छ । 
न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी हुनुहुन्थ्यो । 

यस्तै, प्रधानमन्त्री ओली र छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भेटवार्ता भएको थियो ।
भेटपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भेटवार्ता सकारात्मक भएको बताउनुभएको थियो । भेटमा सहभागी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले चाँडै नै नेपालको भ्रमण गर्ने जानकारी दिनुभएको थियो । 
दुई प्रधानमन्त्रीबीचको भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका साथमा मन्त्री राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापा तथा भारतका तर्फबाट विदेशमन्त्री एस जयशङ्कर, विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीलगायत सहभागी हुनुहुन्थ्यो ।

यसैगरी, प्रधानमन्त्री ओेली र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच पनि भेटवार्ता भएको छ । 
भेटवार्तामा दुई प्रधानमन्त्रीबीच नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि छलफल भएको थियो । 
भेटमा सहभागी प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार दुई देशबीच दुईपक्षीय र बहुपक्षीय मञ्चहरूमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भएको थियो । 
भूटानका प्रधानमन्त्री तोग्बेले गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँग आत्मीय सम्बन्ध रहेको उल्लेख गर्नुभएको थियो । उहाँले नेपालले भूटानका लागि देखाएको सद्भावप्रति आभार व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण हुने बताउनुभएको थियो ।

यसैगरी प्रधानमन्त्री ओलीसँग पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफ, कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानी, लाओसका प्रधानमन्त्री सेनोक्साइ सिफानदोन, फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टब, सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच सोमबार भेटवार्ता भएको थियो ।