११ असोज (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको राजनीतिक र सामाजिक आन्दोलनमा पश्चिमा रणनीतिक प्रभाव परेको बताउनुभएको छ ।
नेकपा (एमाले) सामाजिक सेवा विभागद्वारा शुक्रबार आयोजित ‘बदलिँदो विश्व व्यवस्था सामाजिक आन्दोलनका आयामहरू’ विषय नीति सम्वाद कार्यक्रममा प्रमुख अतिथि पोखरेलले नेपालले आफ्नो रक्षाका लागि सजग हुनुपर्ने बेला आएको बताउनुभयो ।
उहाँले नेपाली नगारिकहरूको रक्षा र समृद्धिका लागि अवलम्बन गर्नुपर्ने विषयहरू खोज्नुपर्ने बताउनुभयो ।
महासचिव पोखरेलले औद्योगिक क्रान्तिले जति प्रविधि एड्भान्स हुँदै गएको छ, त्यति शक्ति राष्ट्रहरू अझ शक्तिशाली हुँदै गएको भन्दै नेपालमा प्रविधिको विकासको खाँचो रहेकोमा जोड दिनुभयो ।
मिश्रित अर्थव्यवस्था भएका मुलुकहरूमा अर्थतन्त्र बढी सफल देखिएको बताउँदै पछिल्लो समय चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिकाले समृद्धि हासिल गरिराखेको उहाँको भनाइ थियो ।
एसियाको सामाजिक आन्दोलनमा तीब्र प्रतिस्पर्धा, दाउपेच, षड्यन्त्र केन्द्रित हुन थालेको पनि चर्चा गर्दै महासचिव पोखरेलले लडाइँ, झगडा मध्यपूर्वमा बढी देखिए पनि एसियाले उछिन्ने हो कि भन्ने चिन्ता थपिएको बताउनुभयो ।
पश्चिमा जगतको रणनीतिको बीचमा परेका मुलुकमध्ये नेपाल पनि भएकाले बढी संवेदनशील क्षेत्रमा पर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा डा.डम्बर चेम्जोङले कार्यपत्र प्रस्तुत गर्दै सिल्करोड र चीन केन्द्रित विश्व व्यवस्थाका बारेमा जानकारी गराउनुभयो । उहाँले युरोप केन्द्रित उपनिवेशवादमा आधारित विश्व व्यवस्था, विश्वमा पुँजीवादको उदय र विस्तारका बारेमा जानकारी गराउनुभयो । उक्त कार्यपत्रमाथि आशिष रेग्मी र सुष्मा राईले टिप्पणी गर्नुभएको थियो । कार्यपत्रलाई आधार मान्दै डा.पदम खतिवडा, निर्मला धिताल, सुशीला श्रेष्ठ, शोभा सापकोटा, सुजन अधिकारी, गोविन्द गौडेल लगायलते विचार राख्नुभएको थियो ।
अमेरिकाका पूर्व राजदूत अर्जुन कार्कीले अहिलेको हरेक आन्दोलनले के खोजीरहेको छ भन्ने विषयमा विचार राख्नुभएको थियो । कार्यक्रम पार्टीका केन्द्रीय सदस्य तथा विभाग प्रमुख कल्पना चापागाईंको अध्यक्षतमा भएको थियो ।