detail-img

सत्ता सौदाबाजीका लागि राष्ट्रिय हितका प्रश्नमा कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री

११ कात्तिक (२०८१), काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियता र राष्ट्रिय हितका प्रश्नमा कुनै सम्झौता नगरिने स्पष्ट गर्नुभएको छ । 
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आज आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतको  नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गर्दै राष्ट्रप्रति जनताको निष्ठापूर्ण भाव उत्पन्न हुनु राष्ट्रिय सुरक्षाको किल्ला भएको बताउनुभयो ।
‘अहिले अनेक नाममा राष्ट्रिय सुरक्षाको किल्लामा हमला गर्न खोजिएको छ । हामी अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाडने सङ्कल्पका साथ अघि बढ्का छौं । सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो– नाकाबन्दीको सामना गर्दा हामी सरकारबाट बाहिर पुग्यौं होला तर हामी कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आउँछौं भनेको थियौं र आयांैं पनि । एमाले र नेपाली काँग्रेससहित मिलेर बनेको यो सरकार राष्ट्रिय एकताको भावनाको रक्षा र देशको हितका लागि पूर्ण कटिबद्ध भएर काम गरिरहेका छ ।
हतियार बिसाएका मात्रै हौं भनेर दिइने धम्कीप्रति लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले माटामुनी लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने भन्दै नेपाली समाजलाई झुठो प्रचार गरेर धम्की नदिन आग्रह गर्नुभयो ।
आफूलाई अलोकप्रिय भएको भनेर टिप्पणी गर्नेहरूलाई जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो– भाडामा खटाइएकाहरूले केपी ओलीको साख घट्यो भन्न सक्छन् सचेत जनतालाई थाहा छ कि हामी कति लोकप्रिय हौं भन्ने । ओलीको साख घटेको भन्नेहरूले २०८४ को निर्वाचनमा हेरुन् ।
प्रधानमन्त्री ओलीले लोकतन्त्र भनेको छाडातन्त्र नभएको बताउँदै नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छौं, चुट्छौं, मार्छौं काट्छौं भन्नु छाडातन्त्र भएकाले त्यस्ता क्रियाकलाप सैह्य नहुने बताउनुभयो । 
उहाँले राष्ट्रका लागि आवश्यक परे पूर्व सुरक्षाकर्मी एकता र अनुशासनका साथ खट्नुपर्ने र नयाँ पुस्तालाई प्रेरणा दिनुपर्ने बताउनुभयो । 
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा जथाभावीरूपमा प्रस्तुत हुनेहरूलाई उत्तरदायी बनाउने बाटोमा सरकार रहेको पनि स्पष्ट गर्नुभयो । 
सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्री उफ्री कराउनु लोकतान्त्रिक मान्यतासङ्गत नभएको बताउनुभयो । 
उहाँले आफूले कसैप्रति पूर्वाग्रह नराख्ने र न्यायिक निरुपणबाट हुने निष्कर्षलाई सबैले मान्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अवकाशप्राप्त उच्चाधिकारीबाट राष्ट्रिय सुरक्षा र पूर्व सुरक्षाकर्मीको भूमिकाबारे विचार प्रस्तुत गर्नुभएको थियो ।