detail-img

अर्थतन्त्र सुधारका लागि सरकारलले योजनाबद्ध काम गरिरहेको छः प्रधानमन्त्री

उद्योग तथा व्यवसायी महासङ्घद्वारा सुझाव हस्तान्तरण
१२ कात्तिक (२०८१), काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल समेटेर ४० पृष्ठको अवधारणापत्र बुझाएको छ ।
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीलाई आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेर एमालेको जनसङ्गठन रहेको महासङ्घका संयोजक भगीरथ सापकोटासहितको प्रतिनिधिमण्डलले ‘सुदृढ अर्थतन्त्र निर्माणको आधारः सबल निजी क्षेत्र र बलियो पूर्वाधार’को लक्ष्य लिइएको सुझावपत्र बुझाएको हो । 
महासङ्घले गत भदौ ७ गते निजी क्षेत्रका समस्या र समाधानका विषयमा आयोजना गरेको छलफल कार्यक्रमबाट निकालिएको निचोड तथा उद्योगी व्यवसायीले भोगिरहेका समस्या र समाधानका उपायलाई अवधारणापत्रमा समावेश गरेको छ । 
सुझावपत्रमा अहिले देशको अर्थतन्त्रका साथै उद्योगी व्यवसायीहरू जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल नीतिगत सुधार गर्नुपर्नेमा जोड दिइएको छ । 
सो अवसरमा प्रधानमन्त्री ओलीले सरकारलले अर्थतन्त्र सुधारका लागि योजनाबद्ध काम गरिरहेको र उद्योगी व्यवसायीले उत्पादन र उत्पादकत्व वृद्धिमा आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताउनुभयो । उहाँले सङ्गठनका अगुवाको व्यवसाय र उत्पादन तथा व्यवहार आदर्शयुक्त हुनुपर्ने पनि सुझाव दिनुभयो ।
उक्त अवसरमा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, केन्द्रीय सदस्य तथा महासंघका सहइञ्चार्ज रचना खड्का, प्रधानमन्त्रीका आर्थिक मामिला तथा विकास सल्लाहकार डा. युवराज खतिवडालगायत सहभागी हुनुहुन्थ्यो ।