detail-img

अराजकताविरूद्ध मङ्सिर ७ गते जागरण सभा 

२८ कात्तिक (२०८१), काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले  आगामी मङ्सिर ७ गते राजधानीमा जागरण सभा आयोजना गर्ने भएको छ । 
मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ जागरण सभा आयोजना गरिएको हो । 
जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा, आमजनताका बीचमा पुर्याउने छ । 
महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा आज पार्टी केन्द्रीय कार्यालयमा बसेको उपत्यका मातहत कमिटी, जनसङ्गठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले जागरण सभालाई भव्य र सुव्यवस्थित बनाउने निर्णय गरेको छ । त्यसका लागि पार्टीका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा पार्टीका बाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल रहनुभएको छ भने सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली,  श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, शमिक बडाल र जनक चौधरी रहनुभएको छ ।
जागरण सभा पार्टीका काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा हुने छ । जागरण सभा संयोजन समितिको आजै बसेको प्रथम बैठकले सभालाई प्रभावकारी बनाउन, जनपरिचालन, जनसभा, जनप्रदर्शन समेतको व्यवस्था मिलाएको जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।