detail-img

साना र जनमत गुमाएका दलको हालिमुहाली हुँदा  देशमा अस्थिरताः महासचिव पोखरेल

२८ कात्तिक (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले साना दललाई आफ्नो हैसियत अनुसारको भूमिकामा  ल्याउन कांग्रेस र एमाले मिल्नुपरेको बताउनुभएको छ । 
आज नेकपा (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौं अधिवेशन तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा  उद्घाटन गर्दै महासचिव पोखरेलले  जनमत गुमाएका दलहरूको सत्तामा हालीमुहाली हुँदा देशमा अस्थिरता निम्तिएको र विकासको काम रोकिएको बताउनुभयो । 
सङ्घीय संसदमा ३२ सिट ल्याउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूरै अवधि मुलुकको शासन गर्ने हुङ्कार गरेपछि दुई ठूला दलले सहकार्य गर्नुपरेको उहाँले प्रष्ट पार्नुभयो ।  
जनमत गुमाउँदै गएको माओवादीले संसदमा ३२ सिटलाई म्याजिक नम्बर भनेपछि कांग्रेस र एमालले सत्ता सहकार्य गर्नुपर्ने परिस्थिति बनेको उहाँले बताउनुभयो ।  
महासचिव पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्व दिनका लागि संविधान संशोधन गर्ने पनि बताउनुभयो । ‘हामीले भनेका छौं, स्थायित्वको आधार खोजी गर्नका लागि संविधानको रिभ्यु गर्नेछौं, कानुनको पुनरावलोकन गर्नेछौं, संरचनागत सुधार गर्नेछौं’, उहाँले भन्नुभयो । 
नेपालको राजनीतिमा जनमत गुमाएकाले शासन गरेर लोकतन्त्रको नै मजाक उडाउने काम गरेको महासचिव पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो– तपाईँहरूले सुन्न भएको होला, एक समय २७५ सिट भएको संसदमा ३२ नम्बर त म्याजिक नम्बर !, यही ३२ नम्बरले पाँच वर्ष नै शासन गर्छ भन्ने हुङ्कार पनि सुन्नु भयो । 
महासचिव पोखरेलले देश निर्माणको काम युवा विना सम्भव नहुने बताउँदै राष्ट्र निर्माणमा युवा परिचालन आवश्यक रहेको स्पष्ट गर्नुभयो । उहाँले सामाजिक अराजकताको अन्त्य नगर्ने हो भने देश बरबादीतर्फ जाने बताउनुभयो ।
नेकपा (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीका अध्यक्ष रामजी सापकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पार्टीका केन्द्रीय सदस्य तथा युवा विद्यार्थी विशेष जिल्ला कमिटीका इन्चार्ज रमेश पौडेल, उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष प्रेमकुमार पराजुली, युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियुका अध्यक्ष शमिक बडाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा पार्टीका महासचिव पोखरेलसहित अनेरास्ववियुका दशजना पूर्वअध्यक्षहरूलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा योगेश भट्टराई, भानुभक्त ढकाल, हिक्मत कार्की, अरूण बराल, खिमलाल भट्टराई, ठाकुर गैरे, माधव ढुङ्गेल, किशोरविक्रम मल्ल र सुनिता बराल हुनुहुन्छ । उद्घाटन समारोहमा पार्टीका स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्य लगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । उद्घाटन समारोहको सञ्चालन युवा विद्यार्थी विशेष जिल्ला कमिटीका सचिव प्रकाश भुजेलले गर्नुभएको थियो भने उपाध्यक्ष सुदर्शन सिवाकोटीले स्वागत मन्तव्य राख्नुभएको थियो । 
अधिवेशनको बन्दसत्रका सबै काम सम्पन्न गर्न पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी इन्चार्ज रमेश पोखरेलको अध्यक्षतामा सातसदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । अध्यक्षमण्डलका सदस्यहरूमा प्रेमकुमार पराजुली, मिलन धरेल, उर्मिला सुनुवार, उषा अधिकारी, शमिक बडाल र क्षितिज थेवे रहनुभएको छ । ३०९ जना प्रतिनिधि रहेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।