२९ कात्तिक ( २०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीति स्थायित्व हुने हो भने देश निर्माणको लागि धेरै समय नलाग्ने बताउनुभएको छ ।
विराटनगरमा मङ्गलबार नेकपा (एमाले) सङ्गठन कमिटी मोरङद्वारा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले देश विकासको लागि राजनीतिक स्थायित्व आवश्यक पर्ने बताउनुभयो ।
अन्य देशले गरेको विकासलाई हेरेर नेपालका राजनीतिक दललाई गाली गर्ने भन्दा पनि नेपाली मौलिकताको विकास मोडल अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपालको विकास तेल बेचेर धनी भएका अरबियन मुलुक जस्तो सोचेर नहुने उहाँको धारणा छ । नेपालको विकास रातारात हुने खालको विकास नभएको उहाँले बताउनुभयो । नेपालको विकास सरकारले एक्लै गर्न नसक्ने पनि उहाँले प्रष्ट पार्नुभयो । ‘नेपालको विकासको ढाँचा जनतालाई साथमा लिएर विकास गर्ने ढाँचा हो’, उहाँले भन्नुभयो ।
नेकपा (एमाले) देशमा स्थायित्व र स्थिरताको लागि लडिरहेको पार्टी भएकाले अहिले एमाले र एमालेको नेतृत्वमाथि प्रहार भइरहेको महासचिव पोखरेलले बताउनुभयो ।
एमालेसँग भएको विशाल कार्यकर्ताको समूह चुनाव जित्नको लागि मात्र होइन समाज बदल्नसक्ने सामथ्र्य राख्ने शक्ति भएको उहाँले बताउनुभयो । एमालेको लक्ष चुनाव जित्ने मात्र नभएर समाज परिवर्तन गर्ने भएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
कमजोरहरूले शासन गर्न थालेपछि सरकारप्रति जनताको विश्वास नरहेको र देश ओरालो गतिमा लागेको महासचिव पोखरेलको भनाइ छ ।
यस्तै विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोखरेलले संविधान कार्यान्वयनको १० वर्षका सबल र दुर्बल पक्ष समीक्षा गरी संशोधन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
धेरै दलमा जनमत विभाजन हुँदा प्रमुख दलहरूमाथि साना दलहरूले शासन गर्ने परिपाटी रोक्नका लागि २०८४ को निर्वाचन अघि नै संविधान संशोधन गरिने उहाँले बताउनुभयो ।
तर कांग्रेस र एमाले मिलेर साना दललाई समाप्त पार्न भने नखोजेको बताउँदै जसले राजनीति गर्न चाहन्छ उसले आफूलाई बलियो भने बनाउनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । साना दलले म्याजिक नम्बर पायौं भन्दै शासन गर्ने परम्परा अन्त्य हुनुपर्ने र जनताको जनादेश पाउने दलले नै शासन गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले भन्नुभयो– लोकतन्त्रमा सानो भएर शासन गर्ने कुरा उचित होइन, त्यो अन्त्य हुनुपर्छ ।
आज मुलुकमा राजनीतिक अस्थिरता र अराजकताले समाजलाई पीडा दिएको हुँदा त्यसबाट समाजलाई मुक्ति दिन पनि प्रमुख राजनीतिक दल मिल्नुपरेको उहाँले स्पष्ट पार्नुभयो ।