३० कात्तिक (२०८१), रामेछाप । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईंले पार्टीविरुद्ध गरिएका भ्रामक प्रचार चिर्न मङ्सिर ७ गते काठमाडौंमा जागरण सभा गर्न लागिएको बताउनुभएकोे छ ।
शुक्रबार नेकपा (एमाले) रामेछापले मन्थलीमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै चौलागाईंले पार्टी र पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गरिएका भ्रामक प्रचार चिर्न जागरण सभा गर्न लागिएको बताउनुभयो । ‘जनताको बीचमा एमालेका विरुद्ध फैलाइएको भ्रम चिर्न मङ्सिर ७ गते जागरण सभा राखिएको हो, यो एमालेको शक्ति प्रदर्शनको कार्यक्रम पनि हो’, उहाँले भन्नुभयो ।
एमालेविरुद्ध जति गलत प्रचार गरिए पनि एमाले नेतृत्वले अहिले सरकारमा रहेर देश र जनताको लागि काम गरिरहेको चौलागाईंले बताउनुभयो । सारा संरचना अस्तव्यस्त भएको देशमा तत्काल जादुमय परिवर्तन सम्भव नभए पनि प्रधानमन्त्री ओलीले त्यसलाई लयमा ल्याउने प्रयास गरिरहनुभएको चौलागाईंले बताउनुभयो । ‘यति बेला पार्टी र नेतृत्वविरुद्ध चौतर्फी आक्रमण भइरहेको छ, यस्तो बेलामा राष्ट्रवादी नेतृत्वलाई बचाउनुपर्छ, जागरण सभा मार्फत यसको भण्डाफोर गर्नुपर्छ’, चौलागाईंले भन्नुभयो । लामो परीक्षणबाट आएका नेताहरू र रातारात उदाएका दल र नेताहरूसँग तुलना नहुने उहाँको भनाई छ ।
नेपालको भूगोल मिचिएको छ भनि स्वाभिमानका साथ औँला ठड्याएर सिङ्गो देशलाई एक ठाउँमा ल्याई चुच्चे नक्सा जारी गर्ने प्रधानमन्त्री ओलीसँग देशका अरू कुनै पनि नेताहरूसँग तुलना नहुने चौलागाईंले बताउनुभयो ।
अहिले एमालेलाई बदनाम र अध्यक्ष ओलीलाई कमजोर बनाउन चाहने शक्ति क्रियाशील रहेका उहाँको भनाइ छ । उद्योगी व्यवसायीलाई धम्क्याउने, आतङ्कित बनाउने र देशको पुँजीलाई पलायन गर्न सुनियोजित षडयन्त्र भइरहेको पनि चौलागाईंले बताउनुभयो ।
यी सबै कुरालाई चिर्न र संविधान परिमार्जन गरी लोकप्रिय मत ल्याउने दलले बहुमतको सरकार बनाउनसक्ने वातावरण निर्माण गर्नको लागि देशका ठुला दुई राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेस संयुक्त सरकार गठन गर्न सहमत भएको उहाँले बताउनुभयो । अहिले कांग्रेस र एमाले मिल्नुको एक मात्र कारण देशमा स्थायित्व कायम गर्नुभएको उहाँले प्रष्ट पार्नुभयो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको इसारामा देशमा अस्थिरता मच्चाउन लागिरहेको उहाँको भनाइ छ । त्यसकै लागि प्रचण्डले राष्ट्रिय सरकारको कुरा गर्नुभएको भए पनि प्रचण्डसँग कांग्रेस सभापति शेरबहादुर देउवाले सहकार्य गर्न नचाहेपछि प्रचण्ड सत्ताबाट बाहिरिनुपरेको चौलागाईंले बताउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य गीता कार्की, रामेछाप भूगोल भएका बाग्मती प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कमिटी सदस्यहरू, नगरपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले) रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले एमाले र एमाले नेतृत्वको सरकारविरुद्ध गरिएको कुप्रचारको दह्रो जवाफ सो कार्यक्रम मार्फत दिइने बताउनुभयो । उहाँले सबैलाई कार्यक्रमको तयारीमा जुट्न पनि आह्वान गर्नुभयो ।